भोटेकोशी बाढीपछि हराएका सल्यानका चारजना सम्पर्कमा

सोमबार, १५ भदौ, २०८३
डिजिटल संस्करण

भदौ १० गते रसुवा, नुवाकोटलगायतका जिल्लामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका सल्यान शारदा नगरपालिका– १३, चलाउनेपानीका चारजना सकुशल सम्पर्कमा आएका छन्।

बाढीपछि केही समय सम्पर्कमा आए पनि पुनः सम्पर्कविहीन भएका डम्बरबहादुर बुढाथोकी, देवराज मगर, मदन बुढामगर र घनश्याम बस्नेत उद्धारपछि सम्पर्कमा आएका शारदा नगरपालिकाले जनाएको छ।

सम्पर्कविहीन नागरिकको अवस्थाबारे जानकारी लिन तथा खोजीका लागि शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी, नगर प्रवक्ता राजेशकुमार शर्मा र वडा नं १३ का अध्यक्ष जङ्गबहादुर बुढा निरन्तर समन्वयमा खटिएका थिए।

बाढी आएपछि भागेर ज्यान बचाएका उनीहरूले मोबाइलमा चार्ज सकिएको र गाउँमा विद्युत् नहुँदा घरपरिवारसँग सम्पर्क गर्न गाह्रो भएको बताएका शारदा नगरपालिका १३ का वडाध्यक्ष जंगबहादुर बुढाले जानकारी दिए।

सम्पर्कमा आएका चारैजनालाई नगर प्रमुख भण्डारीले भेटेर उनीहरूको अवस्थाबारे जानकारी लिएका छन्। उनीहरूलाई तत्कालका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराई काठमाडौंमा बस्ने व्यवस्था मिलाइएको मेयर भण्डारीले बताए। सडक अवरुद्ध रहेकाले तत्काल सल्यान फर्काउन कठिन भएकाले सडक सञ्चालनमा आएपछि ल्याइने उनको भनाइ छ।

शारदा नगरपालिका १३ कै एउटै घरका पाँचजना अझै सम्पर्कविहीन रहेको र उनीहरूको खोजी कार्य भइरहेको वडाध्यक्ष बुढाले बताए। रसुवामा रोजगारी तथा मजदुरीका लागि पुगेका सल्यानका विभिन्न स्थानीय तहका नागरिक बाढीपछि सम्पर्कविहीन छन्।
 

सुझावित समाचार