आयातका लागि तातोपानी नाका पनि अनिश्चित, कन्टेनर न्यालममै राेकिँदा व्यवसायी चिन्तित

सोमबार, १५ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको टिमुरेमा भोटेकोशीको विनाशकारी बाढीपछि नेपाल–चीन व्यापारका लागि वैकल्पिक मार्गका रूपमा रहेको तातोपानी नाका पनि बन्द हुने हल्लाले ट्रान्सपोर्ट कम्पनी र व्यापारीहरू चिन्तित बनेका छन्।

चीनको खासा कस्टमले नेपालपट्टि कोदारी राजमार्ग जोखिमपूर्ण रहेको भन्दै मुस्ताङको कोरला नाका प्रयोग गर्न ट्रान्सपोर्ट कम्पनीहरूलाई सुझाव दिएको छ। यद्यपि, दैनिक पाँच सयभन्दा बढी पर्यटक तातोपानी नाका हुँदै काठमाडौं आइरहेका छन्।

खासास्थित चिनियाँ ट्रान्सपोर्ट कम्पनीहरूले दिएको जानकारीअनुसार नेपाल आउने मालवाहक कन्टेनर न्यालममै रोकिएका छन्। लामो समयदेखि कामविहीन भएका चिनियाँ ट्रान्सपोर्ट कम्पनीमा कार्यरत कर्मचारीसमेत बिचल्लीमा परेका छन्।

खासाभन्दा माथि न्यालम र थिङ्रीमा फलफूल बोकेका ६० कन्टेनर ४५ दिनदेखि अलपत्र परेका छन्। ती फलफूल एसी कन्टेनरमा भएकाले सुरक्षित छन्। तर, लामो समय त्यहाँ रहँदा पार्किङ भाडाका कारण मूल्य वृद्धि हुने अवस्था छ।

खासा कस्टमले मुस्ताङको कोरला नाका प्रयोग गर्न भने पनि त्यहाँ फलफूल निकासी पास गर्ने क्वारेन्टाइन छैन। १२० नेपाली कन्टेनरमा फलफूल अलपत्र परेको फलफूल व्यवसायी शारदाप्रसाद पराजुलीले बताए। उनका अनुसार ४० करोड रुपैयाँबराबरको फलफूल चिनियाँ क्षेत्रमा छ। दसैँ–तिहारलक्षित फलफूल आयातमा यसपटक धेरै समस्या भोग्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।

तातोपानीपट्टि कोदारी राजमार्ग सञ्चालनमा आइसकेको छ। वर्षाले वेलावेलामा पहिरो गएर अवरुद्ध भए पनि ठुलो जोखिम छैन। सडक डिभिजनले तत्कालै सडक सञ्चालनमा ल्याउने गरेको छ। वर्षा कम भएर सडक सहज हुँदै गएको वेला मुस्ताङ नाका प्रयोग गर्नुपर्ने खासा कस्टमको नीतिप्रति त्यहाँका ट्रान्सपोर्ट कम्पनी र नेपाली व्यापारीले विरोध जनाएका छन्।

दसैँ र जाडो महिनाका लागि नेपाली व्यापारीले ल्याएका सामान केरुङ, ल्हासा र चिनियाँ सडकमा छन्। यदि कोरला नाका प्रयोग गर्ने हो भने गाडी भाडा पाँच गुणासम्म बढ्नेछ र सामान आयात पनि सम्भव नहुने व्यापारीहरूको भनाइ छ। चीन सरकारले खासा नाकालाई प्राथमिकता दिनका लागि नेपाली पक्षले तत्काल कुरा गर्नुपर्ने उनीहरूको माग छ।

तातोपानी भन्सारका अधिकृत रमेशबहादुर शाहले खासाबाट औपचारिक रूपमा कुनै कुरा नआएको बताए। तर, नाकाबाट कन्टेनर आएका पनि छैनन्। भन्सार विभागले पनि तत्काललाई कोरला नाका प्रयोग गर्न सुझाव दिएको छ।

केरुङबाट कोरला र कोरलाबाट काठमाडौंसम्म एक हजार किलोमिटर गुडेर सामान आयात गर्दा दसैँका सामान राजधानी आइपुग्ने अवस्था नहुने व्यापारीहरूको भनाइ छ। सामानको मूल्यसमेत अत्यधिक बढ्ने उनीहरू बताउँछन्।

‘छोटो नाका हुँदाहुँदै कोदारी राजमार्ग राम्रो बनाउन छाडेर टाढाको बाटो प्रयोग गर्नु ठुलो घाटा व्यहोर्नु हो,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले भने।

तातोपानी नाका प्रयोग गर्न सरकारले कोदारी सडक निर्माण गरेर चीन सरकारलाई विश्वास दिलाउन ढिला गर्न नहुने उनको भनाइ छ। भोटेकोशी बाढीले थलिएका व्यापारीहरूको हितका लागि पनि सरकारले कूटनीतिक पहल गरेर दसैँका सामान तातोपानी नाकाबाट ल्याउनुपर्ने उनले बताए।

अपुष्ट खबर आएपछि हिमालय सीमापार वाणिज्य संघले ल्हासास्थित महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलासँग तातोपानी नाकाबारे जानकारी लिएको थियो। केही दिन भौगोलिक परिस्थिति हेर्न खासा नाकाबाट कन्टेनर रोकेको चिनियाँ पक्षले महावाणिज्यदूतलाई बताएको अध्यक्ष बस्नेतले जानकारी दिए।

भोटेकोशी बाढीले कन्टेनर व्यवसायी र व्यापारीको बिचल्ली
१० भदौको विनाशकारी भोटेकोशी बाढीले नेपाल–चीन व्यापार गर्ने व्यवसायीहरूको बिचल्ली पारेको छ। व्यापारी, व्यवसायी, कन्टेनर चालक, सहचालक र भन्सार एजेन्टसमेत प्रभावित भएका छन्। चालक, सहचालक, व्यापारी र भन्सार एजेन्टसहित ५५० जना बाढीमा परेर हालसम्म बेपत्ता छन्।

नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले दिएको जानकारीअनुसार ५५० मानिसमा आश्रित परिवारको रुवाबासी छ। टिमुरेदेखि स्याफ्रुबेँसीसम्म रहेका ४५० कन्टेनर भोटेकोशी बाढीले बगाएको उनले बताए।

केरुङबाट सामान बोकेर आएका ५० कन्टेनर टिमुरेको चिनियाँ क्षेत्रमा बाढीले बगाएको उनले जानकारी दिए। १७९ खाली नेपाली कन्टेनर केरुङ सहरमा छन्। ती कन्टेनर र चालकलाई नेपाल ल्याउने पहल गर्न सापकोटाले सरकारसमक्ष आग्रह गरे।

दसैँ र जाडो मौसमका सामान ल्हासा, केरुङ र न्यालममा रहेका छन्। ती सामान नेपाल ल्याउन नेपाली कन्टेनरको अभाव छ।

‘अब दुई सयजति कन्टेनर बाँकी छन्,’ सापकोटाले भने, ‘तातोपानी नाका प्रयोग गर्दा दिनमा दुईपटक सामान लिएर काठमाडौं आउजाउ गर्न सकिन्छ।’

चिनियाँ क्षेत्रमा रहेका ट्रान्सपोर्ट कम्पनीहरूले पनि केरुङ नाका प्रयोग गर्दा गाडी भाडा धेरै बढ्ने भएकाले नेपाली व्यापारीलाई समस्या पर्ने बताएका छन्।

सुझावित समाचार