बन्दुकमाथिको हस्तक्षेप उल्ट्याउँदै ट्रम्प

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण
  • बन्दुक भनेको हतारमा किनेर घरको आँगन वा ढोकाबाहिरै छोडिदिने खालको सामान्य वस्तु हुनुहुँदैन

अमेरिकामा बन्दुकजन्य हिंसामा उल्लेख्य कमी आइरहेको छ । पाँच वर्षअघिको उच्च विन्दुको तुलनामा बन्दुक प्रयोगबाट गरिने हत्याका घटनामा करिब ३० प्रतिशतले कमी आएको छ । बाल्टिमोरमा हत्याको दर ५० वर्षयताकै न्यून विन्दुमा झरेको छ । यो प्रगति संयोगवश भएको होइन, यो प्रभावकारी नीतिगत समाधानमा गरिएको वर्षौंको लगानीको परिणाम हो । तर, संघीय हतियार नियममा ट्रम्प प्रशासनको पछिल्लो पूर्ण हस्तक्षेपले यो सबै प्रगतिलाई बिथोल्ने र राष्ट्रव्यापी रूपमा बन्दुकजन्य हिंसा बढाउने जोखिम देखिन्छ ।

यस हस्तक्षेपको एउटा परिणाम (कुल ३० भन्दा बढी प्रस्तावित नियामक परिवर्तन) ले बन्दुक कसरी किन्ने र बेच्ने भनेर नियन्त्रण गर्ने सुरक्षा उपायलाई ध्वस्त पार्नेछ । मुस्किलले नियमन गरिएको अनलाइन बन्दुक बजारले पृष्ठभूमि जाँचलाई समाप्त गर्नेछ र सीधै तपाईंको ढोकामा बन्दुक पुर्याउनेछ । अन्य कदमले मेसिन गनसहित अत्यधिक घातक हतियारको नियमन खुकुलो बनाउँछ र विक्रेतालाई बिक्री रेकर्ड नष्ट गर्न सहयोग गर्छ, जसका कारण कानुन प्रवर्तनलाई अपराध समाधान गर्न गाह्रो बनाउँछ र जीवनलाई जोखिममा पार्छ ।

अझ गम्भीर कुरा त के छ भने एटिएफले प्रस्ताव गरेका नियममध्ये एउटामा यो उल्लेख छ कि यदि उक्त नियम लागू गरियो भने कानुन कार्यान्वयनमा खटिएका अधिकारीको ज्यान जोखिममा पर्न सक्छ । मैले बढाइचढाइँ गरेको होइन, एउटा प्रावधानले हिंसात्मक अपराधीलाई रोक्ने कानुन कार्यान्वयन निकायको प्रयासमा अवरोध पुर्याउन सक्ने बताएको छ भने अर्को प्रवाधानले स्पष्ट रूपमा चेतावनी दिएको छ कि यसका परिणामतः ‘ठुलो संख्यामा हताहती हुने घटना’ हुन सक्छन् ।

कानुनमा गर्न लागिएका यी परिवर्तन केवल प्राविधिक प्रकृतिका होइनन् । बाढीजस्तै आउने प्रस्तावित नियम शृंखलामा बन्दुकलाई गलत व्यक्तिको हातमा पर्नबाट जोगाउन हामी सर्वसाधारणले दशकौँ लगाएर खडा गरेको संरचनालाई भत्काउने र पुनर्लेखन गर्ने प्रयास हो यो । यी त्यस्ता प्रणाली हुन्, जसले सामूहिक गोलीकाण्ड, आत्महत्या र बन्दुकको अवैध ओसारपसार रोक्न तथा लाखौँको ज्यान बचाउन दैनिक रूपमा काम गरिरहेका छन् । डोनाल्ड ट्रम्प जुनियरको नयाँ अनलाइन बन्दुक विक्रेता ‘ग्र्याब अगेन’ (जसको प्रचारप्रसार नै ‘बन्दुकको अमेजन’का रूपमा गरिएको छ) ले यी परिवर्तनबाट लाखौँ कमाउने अवस्थामा रहनु संयोग होइन । मलाई यो कुराले रातभर निदाउन दिँदैन कि यदि ट्रम्प प्रशासनको योजना सफल भयो भने बन्दुकहरू पनि किराना सामान जसरी नै किनबेच र डेलिभर गरिनेछन्, पिस्तोलहरू ‘पेपर टावेल’जस्तै र सटगनहरू ‘सिरियल’जस्तै गरी किनबेच हुन्छ । तर, बन्दुक भनेको हतारमा किनेर घरको आँगन वा ढोकाबाहिरै छोडिदिने खालको सामान्य वस्तु हुनुहुँदैन ।

हाल, जब कसैले अनलाइनमार्फत बन्दुक खरिद गर्छ, त्यसलाई अनिवार्य रूपमा इजाजतपत्र प्राप्त विक्रेताकहाँ पठाउनुपर्ने हुन्छ । त्यहाँ, खरिद प्रक्रिया पूरा गर्नुअघि सम्भावित खरिदकर्ताले व्यक्तिगत रूपमा उपस्थित भई पृष्ठभूमि जाँच प्रक्रिया पार गर्नुपर्छ । यो प्रत्यक्ष उपस्थितिको क्षण तपाईंले सोचेभन्दा धेरै महत्वपूर्ण हुन्छ । बन्दुक विक्रेतालाई ‘गेटकिपर’ वा नियमनकारीको भूमिका दिइएको हुन्छ । उनीहरूले मानसिक समस्या, शंकास्पद तेस्रो पक्षीय खरिद, तथा आफू वा अरूलाई हानि पुर्याउने जोखिमजस्ता खतरनाक कारोबारका संकेत पहिचान गरी प्रत्येक बिक्री सुरक्षित छ भन्ने सुनिश्चित गर्छन् । तर, ट्रम्प प्रशासनले अघि सारेका उपायले व्यक्तिगत उपस्थितिसहितको पृष्ठभूमि जाँचको व्यवस्थालाई बेवास्ता गर्छ । यसको सट्टा यो महत्वपूर्ण सुरक्षा उपायलाई कम्प्युटर स्क्रिनले प्रतिस्थापन गर्नेछ, जुन ठगी र ‘डिपफेक’को जोखिमप्रति अत्यन्त संवेदनशील हुन्छ । यो त विमानस्थलको सुरक्षा व्यवस्थालाई अनलाइन प्रश्नावलीले प्रतिस्थापन गरेजस्तै हो । त्यसैले, बन्दुक विक्रेताहरू स्वयं पनि यस नियमको विरोध गर्छन् । उनीहरूका अनुसार अनलाइन प्रमाणीकरण बलियो सुरक्षा उपायको विकल्प बन्न सक्दैन ।

एक अभिभावकका रूपमा हाम्रो सरकारले हाम्रा बालबालिका र परिवारलाई कम सुरक्षित बनाउँदै छ भन्ने तथ्यलाई म स्वीकार गर्न चाहन्नँ । एक वकिलका रूपमा नियमन खुकुलो पार्दा कति धेरै क्षति र अन्योल सिर्जना हुन सक्छ भन्ने कुरा मलाई राम्ररी थाहा छ । अनि, शोकमा डुबेका अभिभावकसँग मिलेर वर्षौंदेखि संघर्ष गर्दै आएको एक पक्षधरका रूपमा म हाम्रो प्रगतिको सत्यानाश भएको हेरेर बस्न तयार छैन ।

यसमा एउटा सकारात्मक पक्ष के छ भने तत्कालका लागि यी नियम परिवर्तन केवल प्रस्ताव मात्र हुन् । यी खतरनाक कदमलाई अघि बढ्न नदिन सुनिश्चित गर्न हामीसँग अझै समय छ । बन्दुकसम्बन्धी अपराध र हत्याका घटना न्यूनीकरण गर्ने दिशामा हाम्रो देशले हासिल गरेको ऐतिहासिक प्रगति अहिले जोखिमपूर्ण मोडमा छ, तर हामीले आशा गुमाउनुहुँदैन र पछि हट्नु पनि हुँदैन । बन्दुक सुरक्षासम्बन्धी हाम्रा कानुनको भविष्य र तिनले रक्षा गर्ने जीवन हाम्रो आगामी कदममा निर्भर हुनेछ । त्यसैले, आउनुहोस्, हामी काममा जुटौँ ।

(ब्राउन देशको सबैभन्दा पुरानो बन्दुक हिंसा रोकथाम संस्था ‘ब्रेडी’का अध्यक्ष हुन्)
न्युजविकबाट 

See More On

सुझावित समाचार