मोबाइल फोनमा ठुलो स्वरमा कुरा गरेको भन्दै आफ्नै सहकर्मीले धारिलो हतियार प्रहार गर्दा बागलुङमा एक युवकको ज्यान गएको छ। ढोरपाटन नगरपालिका– ७ घर भई वडा नं. ५ बस्ने ३६ वर्षीय अशोक खत्रीको सामान्य विषयकाे विवादमा ज्यान गएकाे हाे।
काठेखोला गाउँपालिका– ३, माझकटेराका देवेन्द्र खत्रीको घरमा ओखरको बिरुवा रोप्नका लागि खाडल खन्न आएका ढोरपाटन– ५ का २५ वर्षीय अर्जुन घर्तीमगर र ३६ वर्षे रिखे दमाईंले खत्रीकाे हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए।
साउन २६ गते खाडल खन्ने काम सकेर बास बस्ने गरेको स्थानमा फर्केपछि तीनैजनाले मादक पदार्थ सेवन गरेको र फोनमा कुरा गर्दा चर्को आवाज बोलेको भन्दै अर्जुनले अशोकमाथि चक्कु प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको हो।
घाँटीमा लागेको चोटपछि अत्यधिक रक्तश्रावले खत्रीको मृत्यु भएको प्रहरी उपरीक्षक प्रसाईंले बताए। ‘घटना रातको पौने १० बजेको समयमा भएको रहेछ, सूचनापछि तत्काल उद्धार टोली खटायौँ,’ प्रसाईंले भने, ‘स्थानीयको सहयोगमा राति नै उनीहरूलाई पक्राउ गरेर ल्यायौँ। प्रतिवादीलाई म्याद थपेर अनुसन्धान अगाडि बढाइरहेका छौँ।’
साउन २० गतेदेखि नै घर्ती र खत्री काममा हिँडेका थिए। तर, बिचबाटोमा खत्री काम परेको भन्दै घर फर्किएका थिए। साउन २४ गते मात्र खत्री पुनः सोही काममा आएका थिए।
स्थानीय एक विद्यालयको कोठामा बस्दै आएकोमा तीनैजना हत्या भएको दिन पनि काम गरेर फर्केपछि सँगै मापसे गरेका थिए। अघिल्लो दिनको सामान्य झगडाको विषय उठाएर फेरि झगडा थपिएपछि घर्तीले तरकारी काट्ने चक्कुले गर्धनमा प्रहार गरेको खुलेको छ।
घटनामा प्रयोग भएको चक्कु, रगत लागेका कपडाहरूसमेत प्रहरीले संकलन गरी ल्याएको छ। दुवैजनालाई कर्तव्य ज्यान मुद्दा अगाडि बढाउने तयारी भएको प्रहरीले बतायो। मृतक खत्रीको एक पत्नीसहित १२, नाै र सात वर्षका तीन छोरा छन्। गर्भवती रहेकी पत्नी दिलमाया भण्डारीले किटानी जाहेरी दिएपछि प्रहरीले मुद्दा अगाडि बढाएको हो।