वीरगन्ज महानगरपालिका– ४, बिर्तास्थित रहेको बाल सुधारगृहबाट फरार भएका युवक चार दिन बितिसक्दा पनि फेला नपरेको प्रहरीले जनाएको छ । लागुऔषध कसुरमा अदालतको फैसलापछि बाल सुधारगृहमा राखिएका १७ वर्षीय युवक गत मंगलबार बिहान साढे ५ बजे फरार भएर अहिलेसम्म फेला नपरेको अवस्था छ।
पर्सा प्रहरीका प्रवक्ता डिएसपी चक्र मल्लका अनुसार सर्लाहीको गोडैता नगरपालिका घर भएका ती युवक मंगलबार बिहान करिब साढे ५ बजे सुधारगृहको पछाडितर्फ रहेको झ्यालबाट हाम फालेर फरार भएका थिए।
युवक फरार भएको जानकारी पाएलगत्तै उनको खोजीका लागि प्रहरी परिचालन गरिएको थियो। तर, फरार भएको चार दिन बितिसक्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन।प्रहरीका अनुसार लागुऔषधसम्बन्धी कसुरमा अदालतको फैसलापछि करिब एक साताअघि मात्रै उनलाई बाल सुधारगृहमा राखिएको थियो।
सुधारगृहमा राखिएको केही दिनमै उनी झ्यालबाट हाम फालेर फरार भएका हुन्। फरार युवकको खोजीका लागि सम्भावित स्थानमा प्रहरी परिचालन गर्नुका साथै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए।