- जापानको आइची र नागोया सहरमा आयोजना हुने एसियन खेलकुद प्रतियोगिता सुरु हुन एक महिना बाँकी रहँदा बिहीबार विभिन्न उत्सव मनाइएको छ
एसिया महादेशको ‘मिनी ओलम्पिक’का रूपमा रहेको एसियन खेलकुद प्रतियोगिता (एसियाड) आउन एक महिना बाँकी रहेको छ । यसपटक २०औँ संस्करणको एसियाड जापानमा हुँदै छ । जापानको आइची र नागोया सहरमा एसियाड १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म अयोजना हुनेछ । लगातार १६ दिनसम्म चल्ने प्रतियोगितामा ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)मा आबद्ध राष्ट्रहरूले प्रतिस्पर्धा गर्नेछन् । ओसिएका अनुसार एसियाका ४५ राष्ट्रबाट लगभग ११ हजार खेलाडीले विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछन् । आयोजक जापानले प्रतियोगिताको सबै तयारी पूरा भइसकेको जनाएको छ ।
यसैबिच ओसिए र आयोजक सहरहरू आइची र नागोयाले एक कार्यक्रमबिच उत्सव मनाएका छन् । मुख्य आयोजक समितिले टोकियो अन्तर्राष्ट्रिय रंगशालामा एसियाड आउन एक महिना बाँकी रहेको अवसरमा उत्सव मनाएको हो । सो उत्सव कार्यक्रममा जापानका लागि ओलम्पिक खेलकुद प्रतियोगितामा पदक दिलाएका खेलाडीलाई आमन्त्रण गरिएको थियो । एमयुएफजी रंगशालामा आइचीका गर्भनर हिडेकी ओमुरा र जापान ओलम्पिक कमिटीका अध्यक्ष सेइको हासिमोटोले आगामी एसियाडलाई भव्य बनाउने दाबी गरेका थिए ।
जापानिज स्पिन्टर योसिहिडे कियुले एसियाडको टच बोकेका थिए । सन् २०२३ मा चीनको हाङझाउमा भएको १९औँ संस्करणको एसियाडमा जापानले ट्याक एन्ड फिल्डमा दुई स्वर्णसहित १७ पदक जितेको थियो । जापानले यसपटक यस विधामा उत्कृष्ट प्रदर्शन हुने जनाएको छ । आयोजक जापानले सबै खेलमा सहभागिता जनाउनेछ । ६ हजार पदाधिकारी सहभागी हुने एसियाडमा जापानले ४३ खेलमा प्रतिस्पर्धा गर्नेछ । खेलाडीले चार सय ६९ स्पर्धामा भाग लिनेछन् । उनीहरूले एक हजार चार सय सात पदकका लागि भिड्नेछन् ।
जापानमा तेस्रोपटक आयोजना
जापानको यो तेस्रोपटक एसियाड आयोजना हो । सन् १९५८ मा जापानले पहिलोपटक एसियाड आयोजना गरेको थियो । जापानले दोस्रोपटक एसियाड आयोजना गर्न ३६ वर्ष प्रतीक्षा गर्यो । सन् १९९४ मा हिरोसिमामा प्रतियोगिता भएको थियो । त्यसवेला ओसिएले हिरोसिमाबाट शान्तिको सन्देश फैलाउन प्रतियोगिता आयोजना गर्न दिएको थियो । हिरोसिमामा आयोजित एसियाडले विश्वमा शान्ति फैलाउनुपर्ने मुख्य नारा राखेको थियो । ३२ वर्षपछि फेरि एसियाड आयोजना गर्न पाएको जापानले ‘एक एसियाको कल्पना’ भनेको छ ।
‘इम्याजिन वन एसिया’ आधिकारिक नारासहित आइची र नागोया एसियाड हुने ओसिएले जनाएको छ । ओसिएका अध्यक्ष शेख जोआन थानीले ओलम्पिक परिवारभित्रको एसियाडको माध्यमबाट एसियामा एकताबद्ध गर्ने र सबैले साझा दृष्ट्रिकोण हात पार्ने बताए । ‘जापानले विगतको वर्षमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । यसपटक उनीहरूले एसियाड गर्दै छन्,’ थानीले भने, ‘आइची र नागोयामा हुने प्रतियोगिताले खेल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्नेमा विश्वस्त छु । यसले आगामी पुस्तालाई प्रेरणा दिनेछ ।’
तीन सय ७० बिलियन यान बजेट
जापानले तेस्रोपटक एसियाड आयोजना गर्ने अवसर पाउँदा यसको बजेट तीन सय ७० बिलियन यान छुट्याएको छ । चार वर्षअघि हाङझाउबाट आयोजकको झन्डा बोकेर आएका आइची र नागोयाले प्रतियोगिता उत्कृष्ट बनाउन बजेटमा कुनै कमी नआउने जनाएका थिए ।
‘योपटकको एसियाड अरूभन्दा फरक हुनेछ । हामीले यहाँ तीन सय ७० बिलियन यानभन्दा माथि खर्च गरेका छौँ,’ आयोजकका अध्यक्ष हासिमोटोले भने, ‘प्रतियोगिता समाप्तिपछि विश्वले २०औँ संस्करणको मूल्यांकन गर्नेछ ।’ जापानले प्रतियोगिताका लागि १० हजार दुई सय स्वयंसेवक परिचालन गर्नेछ । आइची र नागोयामा प्रतियोगिताको उद्घाटन हुनेछ ।
नेपालबाट २२ खेलमा एक सय ३६ खेलाडी
नेपालले निरन्तर रूपमा एसियाडमा सहभागिता जनाइरहेको छ । नेपालले यसटपक समग्रमा एक सय ३६ खेलाडीलाई जापानमा सहभागिता गराउँदै छ । नेपाल ओलम्पिक कमिटीका अनुसार नेपालबाट पुरुषतर्फ ८० र महिलातर्फ ५६ खेलाडी सहभागी हुनेछन् । नेपालले अहिलेसम्म एसियाडमा तीन रजत पदक जितेको छ । सन् १९९८ मा बैंककमा भएको एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलोपटक नेपाललाई ऐतिहासिक रूपमा रजत पदक दिलाएकी थिइन् । त्यसको २० वर्षपछि (सन् २०१८) मा जाकार्तामा भएको १८औँ संस्करणमा प्याराग्लाइडिङले टिम इभेन्ट्समा रजत हात पारेको थियो ।
सन् २०२३ को संस्करणमा कराँतेकी एरिका गुरुङले रजत पदक जितेकी थिइन् । नेपालले लगातार दुई एसियाडमा रजत जितेको पहिलोपटक थियो । यसपटक नेपालबाट सहभागीमध्ये आर्चरीमा समान एक पुरुष र महिला खेलाडी रहेका छन् । यसैगरी, साइक्लिङमा समान एक पुरुष र महिला रहेका छन् । डान्स एन्ड स्पोर्टस्मा एक पुरुष खेलाडी सहभागी हुनेछन् ।