इन्डोनेसियामा भूकम्पको तीन दिनपछि ८४ वर्षीया वृद्धाको उद्धार

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको तीन दिनपछि एकजना ८४ वर्षीया वृद्धालाई उनको घरको भग्नावशेषबाट जीवितै उद्धार गरिएको अधिकारीहरूले पुष्टि गरेका छन् । शनिबार बिहान इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस विपत्मा कम्तीमा ७३ जनाको मृत्यु भएको थियो भने ९०० भन्दा बढी मानिसहरू घाइते भएका थिए । त्यस्तै, लगभग ६०,००० जना विस्थापित भएका थिए ।

भूकम्पका कारण गएको पहिरोले ८४ वर्षीया पाउलिना पोबी बस्ने नितुङलिया गाउँ जाने बाटो अवरुद्ध भएकाले वृद्धा महिला मंगलबारसम्म उनको घरको बाँसको पर्खालमुनि तीन दिनसम्म पुरिएकी थिइन् । सिक्का रिजेन्सी क्षेत्रका प्रहरी बाम्बाङ सुपेनोले स्थानीय मिडियालाई बताएअनुसार महिलालाई उद्धारपछि उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको छ । 

‘वृद्धालाई पक्षाघात भएकाले उनी हलचल गर्न सक्दिनथिइन्, त्यसैले चौथो दिनसम्म पनि उनको परिवारले उनलाई फेला पार्न सकेको थिएन्,’ अर्का स्थानीय अधिकारी रुडोल्फस रिबाले एजेन्स फ्रान्स–प्रेस(एएफपी)लाई भने, ‘उनी स्वस्थ छिन्, कुनै पनि चोटपटक लागेको थिएन । तर, केही खान नपाएकाले केही कमजोर देखिन्थिन् । तर, यति दिनपछि यति उमेरको मानिसको उद्धार कुनै चमत्कारजस्तै छ ।’

सुझावित समाचार