मुक्तिनाथ विकास बैंक लिमिटेडले तिज, दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) कर्जामा विशेष सुविधा सार्वजनिक गरेको छ ।
बैंकले कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह हुने विभिन्न कर्जामा आधार दरमा न्यूनतम ०.५० प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा उपलब्ध गराउने जनाएको छ। साथै, कर्जा प्रवाह गर्दा लाग्ने प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।
बैंकका अनुसार यो योजनाले चाडपर्वको समयमा व्यवसाय विस्तार, उद्यम सञ्चालन तथा कार्यशील पुँजी व्यवस्थापनका लागि आवश्यक वित्तीय स्रोत जुटाउन कृषि तथा साना तथा मझौला व्यवसायीलाई सहयोग पुग्नेछ ।
योजनाअन्तर्गत कृषि तथा एसएमई व्यवसाय विस्तार, उद्यम सञ्चालन, कार्यशील पुँजीलगायत सम्बन्धित प्रयोजनका लागि कर्जा लिन सकिनेछ । अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा स्थानान्तरण गर्नसमेत यो सुविधा उपयोग गर्न सकिने बैंकले जनाएको छ ।
यो विशेष कर्जा सुविधा बैंकका देशभर रहेका १७६ वटै शाखाबाट उपलब्ध हुनेछ । ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी कर्जाको प्रकार, लागू हुने ब्याजदर, आवश्यक कागजात तथा अन्य सर्तबारे जानकारी लिन सक्नेछन् ।
बैंकले विशेष कर्जा योजना सीमित अवधिका लागि मात्र लागू हुने जनाएको छ ।