ट्रम्पले किन दिइरहेका छन् ओमानलाई धम्की ?

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण
  • राष्ट्रपति ट्रम्पले अमेरिका र इरानबिचको वार्तामा ‘अवरोध खडा गरे’ ओमानमाथि बम प्रहार गर्ने धम्की दिएका छन्

आफ्ना अभिव्यक्तिका कारण बारम्बार विवादमा आउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि ओमानले अमेरिका र इरानबिचको शान्ति सम्झौताको बाटोमा ‘अवरोध खडा गरे’ राजधानी मस्कटमाथि बम प्रहार गर्ने चेतावनी दिए । ओमानले हाल रणनीतिक महत्पको ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनमा ल्याउने विषयमा इरानसँग वार्ता गरिरहेको छ, जबकि इरानले अमेरिकासँग प्रत्यक्ष कुराकानी नगर्ने बारम्बार दोहोर्याउँदै आएको छ । सोमबार, जब इरानी अधिकारीले ओमानसँगको सम्झौता घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए, त्यही वेला वासिंटन र तेहरानबिचको ६० दिने समझदारी पत्र (एमओयू) को म्याद समाप्त भयो । शान्ति वार्ताका लागि गरिएको सो समझदारी सुरुमै लगभग विफल भएको थियो र नवीकरण हुने सम्भावना पनि न्यून छ ।

ट्रम्पले ओमानलाई धम्की दिएको यो पहिलोपटक होइन । ओमान अमेरिकाको सहयोगी राष्ट्र हो । ओमानको अमेरिकासँग कहिल्यै कुनै प्रत्यक्ष द्वन्द्व भएको छैन । ओमानले विवादित ‘स्ट्रेट अफ हर्मुज’बारे अमेरिका–इरान द्वन्द्वमा आफूलाई तटस्थ रूपमा उभ्याएको छ । यति हुँदाहुँदै पनि उसले इरानी हमलाको सामना गर्नुपरेको छ । अमेरिका–इजरायल आक्रमणको जवाफमा इरानले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य सम्पत्ति र पूर्वाधारलाई निसाना बनाउँदै आएको छ । अब, ट्रम्पले ओमानमाथि पनि आक्रमण गर्ने धम्की दिइरहेका छन् ।

ट्रम्पले दुई दिनअघि अमेरिकी प्रसारण संस्था ‘फक्स न्युज’सँग कुरा गर्दै इरानले आत्मसमर्पण गर्नुपर्ने बताएका थिए । साथै, उनले आफ्नो प्रशासनले इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स’ (आइआरजिसी) सँग वार्ताका लागि अनौपचारिक सम्पर्क सूत्र खोलेको दाबी गरे । सोही अन्तर्वार्ताका क्रममा उनले अमेरिकाको सहयोगी राष्ट्र ओमानले अमेरिका र इरानबिचको वार्तामा ‘अवरोध खडा गरे’ उसमाथि बम प्रहार गर्ने धम्की दिए । उनले भने, ‘ओमानले बाटोमा अवरोध खडा गर्यो भने हामी उनीहरूमाथि भीषण बमबारी गर्नेछौँ ।’ आइआरजिसीका एक प्रवक्ताले प्रत्यक्ष वार्तासम्बन्धी ट्रम्पको दाबीलाई अस्वीकार गरे । इरानको अर्ध–सरकारी समाचार संस्था तस्निम न्युजसँग उनले भने, ‘आइआरजिसीका अधिकारी र अमेरिकाबिच कुनै वार्ता भइरहेको छैन । ट्रम्पको यो झुट केवल भ्रम र दुःस्वप्नको उपज हो ।’

अमेरिका र इरानबिचको पाँचमहिने द्वन्द्वका क्रममा ट्रम्पले ओमानलाई धम्की दिएको यो पहिलोपटक भने होइन । उनले मे महिनामा पनि यस्तै धम्की दिएका थिए । २७ मेमा बसेको मन्त्रिपरिषद्को बैठकमा एक पत्रकारले ट्रम्पलाई ‘हर्मुज जलमार्ग’ भएर हुने जलयातायातको संयुक्त रूपमा रेखदेख गर्ने ओमान र इरानको प्रस्तावबारे पत्रकारले सोधेका थिए, ‘के तपाईं इरान र ओमानलाई सो जलमार्गलाई नियन्त्रण गर्न दिने अल्पकालीन सम्झौता स्वीकार गर्नुहुन्छ ?’ जवाफमा ट्रम्पले सहजै तर धम्कीपूर्ण शैलीमा भने, ‘हर्मुजमाथि कसैको पनि नियन्त्रण हुनेछैन । यो अन्तर्राष्ट्रिय जलक्षेत्र हो र ओमानले पनि अरू सबैले झैँ व्यवहार गर्नुपर्छ, अन्यथा हामीले उनीहरूलाई ध्वस्त पार्नुपर्ने हुन्छ ।’ सुरुमा ट्रम्पले ‘इरान’ भन्नुपर्नेमा झुक्किएर ‘ओमान’ भनेका हुन् कि भन्ने अनुमान गरिएको थियो । तर, पछि अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जालमा सो भनाइको विवरण (ट्रान्सक्रिप्ट) सहितको सामग्री सार्वजनिक गर्यो, जसमा स्पष्ट रूपमा सो अरब राष्ट्रको उल्लेख गरिएको थियो ।

पछिल्ला केही सातायता भविष्यमा ‘स्ट्रेट अफ हर्मुज’ भएर हुने समुद्री आवागमनको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सहमति जुटाउन इरान र ओमानबिच कतारका मध्यस्थकर्ताको सहजीकरणमा प्रत्यक्ष वार्ता भइरहेको छ । १७ जुनमा अमेरिकासँग समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएपछि इरानले ६० दिनसम्म उक्त जलमार्गलाई जहाज आवतजावतका लागि निःशुल्क खुला राख्न सहमति जनाएको थियो । तर, सो जलमार्गमा कसको अन्तिम नियन्त्रण रहने (विशेषगरी जहाजले कुन मार्ग प्रयोग गर्ने) भन्ने विषयमा दुई पक्षबिच मतभेद भएपछि सो सहमति छिट्टै भंग भयो । जुन महिनाको अन्त्यतिर इरानले आफ्नै मार्गको सट्टा अमेरिकाद्वारा स्वीकृत र ओमानले तोकेको मार्ग प्रयोग गरेका केही जहाजमाथि आक्रमण गर्यो । त्यसको जवाफमा अमेरिकाले पनि करिब दुई सातासम्म इरानमाथि पुनः आक्रमण गर्यो ।

हर्मुज जलसन्धिलाई समेट्ने गरी इरान र ओमानबिच हुन सक्ने सम्भावित समझदारी वासिंटनको एउटा मुख्य मागको विपरीत हुन सक्छ । त्यो माग हो, युद्ध अन्त्य गर्ने सर्तका रूपमा इरानले उक्त जलसन्धिमाथिको आफ्नो नियन्त्रण त्याग्नुपर्छ । यस्तो सम्झौताले इरानको नियन्त्रणलाई सीमित गर्नुको साटो उसको स्थितिलाई औपचारिक रूप दिएर त्यसलाई अझ बढी वैधता प्रदान गर्नेछ । तर, विज्ञहरूका अनुसार उक्त जलसन्धिसम्बन्धी सम्झौताबाट अमेरिकालाई बाहिर राखिएजस्तो देखिएकाले पनि ट्रम्प आक्रोशित भएका हुन सक्छन् । ‘एक्सेटर विश्वविद्यालय’मा ‘गल्फ स्टडिज’ (खाडी क्षेत्रको अध्ययन) की प्राध्यापक लालेह खलिलीले अल जजिरालाई भनिन्, ‘आंशिक रूपमा भन्नुपर्दा अमेरिकी हस्तक्षेपविना मध्यस्थता गरिएको र वास्तवमा ओमान तथा इरानलाई हर्मुज हुँदै हुने आवागमन व्यवस्थापन गर्न दिने खालको समाधानले (जुन पूर्ण रूपमा ती दुई देशको जलक्षेत्रभित्र पर्छ ) अमेरिका कति अक्षम छ भन्ने छर्लंग देखाउँछ ।’

(समिम अलजजिराकी स्तम्भकार हुन्)
अलजजिराबाट

See More On

सुझावित समाचार