मोटरसाइकल दुर्घटनामा गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु भएको छ। सल्यान कपुरकोट गाउँपालिका– ६, सिमडाँडाका ३४ वर्षीय वेदबहादुर वलीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
कपुरकोट गाउँपालिका– ३, मूलपानीस्थित राप्ती राजमार्गको सल्यान–तुलसीपुर सडकखण्डमा नेपालगन्जबाट रुकुम पश्चिम जाँदै गरेको लु.प्र.०१–००१ ख ११९२ नम्बरको फोर्स गाडी र विपरीत दिशातर्फ आउँदै गरेको बा.६८प २५२८ नम्बरको मोटरसाइकल मंगलबार बिहान एक–आपसमा ठोक्किएका थिए।
ठक्करबाट गम्भीर घाइते मोटरसाइकलचालक वलीको सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए। शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ ल्याउने तयारी भइरहेको उनको भनाइ छ।
मोटरसाइकलको पछाडि सवार कपुरकोट– ३ कै ५२ वर्षीय सुकलाल वलीको घोराहीमा उपचार भइरहेका उनले बताए ।ठक्कर दिने फोर्स गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । मृतक वली रास्वपा कपुरकोट गाउँपालिका सभापतिसमेत हुन् ।