- सन् २०२३ मा चीनको हाङझाउमा रजत जितेको कराँते टोलीले २०औँ संस्करणमा एक कदम अगाडि बढ्दै स्वर्ण पदकका लागि दाबेदारी गर्ने
चीनको हाङझाउ एसियन खेलकुद (एसियाड) प्रतियोगितामा कराँतेले नेपाललाई ऐतिहासिक रजतपदक दिलाएको थियो । दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामै एरिकाले नेपाललाई रजत दिलाएकी थिइन् । एसियाडको इतिहासमा नेपालले २६ वर्षपछि दोस्रोपटक व्यक्तिगत विधामा रजत जितेको थियो । सन् १९९८ मा बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले रजत हात पारेकी थिइन् । त्यसपछि एरिकाले राजभण्डारीकै रेकर्ड बराबरी गर्न सफल भइन् ।
तीन वर्षपछि नेपालको कराँते टोलीको लक्ष्य फरक छ । कम्तीमा एक कदमअगाडि जानुपर्छ भन्ने विश्वासका साथ खेलाडीहरू प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षक कुशल श्रेष्ठ पनि जापानको आइची र नागोयामा हुने २०औँ संस्करणको एसियाडमा नेपाल स्वर्णपदकका साथ फर्किने विश्वास गर्छन् । ‘हाम्रो लक्ष्य यसपटक फरक छ । गत संस्करणभन्दा भिन्नै छ । हामी कम्तीमा हाङझाउ एसियाडको तुलनामा एक स्थानमाथि रहँदै पदक भिœयाउने योजनामा छौँ,’ घुमाउरो रूपमा श्रेष्ठले भने, ‘यो भनेको नेपालले रजत नभएर स्वर्णपदकका लागि जापानमा दाबेदारी दिनेछ ।’
उनको यस महत्वाकांक्षी सपनामा सबैभन्दा ठुलो आशा नै एरिका हुन् । तीन वर्षअघिकी एरिका र वर्तमान एरिकाबिच धेरै परिवर्तन भएको श्रेष्ठ मान्छन् । उनी भन्छन्, ‘हाङझाउ एसियाड एरिकाको केवल दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । त्यसैमा उसले नेपाललाई रजत दिलाइन् । यसबिचमा एरिकाले धेरै अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग मात्र लिइनन्, नेपाललाई ऐतिहासिक पदक पनि दिलाइन् ।’
विश्व च्याम्पियनसिपमा समेत ऐतिहासिक पदक जितेकी एरिकाले २०औँ एसियाडमा इतिहास रच्ने प्रशिक्षक श्रेष्ठको भनाइ छ । ‘हामीहरूले स्वर्ण पदकको आशा गरेका खेलाडीमध्ये एरिका अगाडि पर्छिन् । थुप्रै अन्तर्राष्ट्रिय खेलको अनुभवका कारण पनि यस्तो आशा गरिएको हो,’ श्रेष्ठले भने, ‘यद्यपि, अन्य खेलाडीबाट पनि पदकको आशा छ । यसमध्ये सानुमाया थिङबाट पनि पदक जित्ने सम्भावना औधि छ ।’ विश्व कराँते च्याम्पियनसिपको पछिल्लो संस्करणमा सुनमायाले छनोट चरण पार गरी स्थान बनाएकी थिइन् । एरिकाकै हाराहारीमै सुनमायाले पनि अन्तर्राष्ट्रिय एक्सपोजर पाएकी छिन् ।
हाङझाउपछि नियमित प्रशिक्षण
तत्कालीन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले हाङझाउ एसियाडपछि मिसन २०२६ घोषणा गरेका थिए । घिसिङको मिसनअनुसार २०औँ एसियाडमा नेपालले दोहोरो अंकमा पदक जित्ने लक्ष्य हो । यसै योजना साकार पार्न घिसिङले पदकका सम्भावना बोकेका खेलका खेलाडीलाई राष्ट्रिय टिम तयारीमा समावेश गर्दै प्रशिक्षण सुरु गरेका थिए । यसैअन्तर्गत कराँते शीर्ष स्थानमा रह्यो । कराँतेले लगातार तीन वर्षदेखि नियमित प्रशिक्षण गरिरहेको छ । केही विशेष परिस्थितिबाहेक कराँतेको प्रशिक्षण एक दिन पनि नरोकिएको प्रशिक्षक श्रेष्ठले बताए ।
‘हामी लगातार तीन वर्षदेखि प्रशिक्षणमा छौँ । यस किसिमको प्रशिक्षणले खेलाडीहरूको क्षमता निकै वृद्धि भएको छ,’ उनले भने, ‘खेलाडीहरूले बिहान आठ बजेदेखि साढे १० बजेसम्म प्रशिक्षण गर्छन् । त्यसपछि दिउँसो ३:३० देखि साँझ ६ बजेसम्म प्रशिक्षणमा व्यस्त हुन्छन् ।’ यसै प्रशिक्षणका आधारमै नेपालले यसपटक कराँतेमा स्वर्णका लागि भिड्ने श्रेष्ठले बताए । ‘अवश्य पनि हाम्रो फाइट स्वर्णका लागि हो ।’
योपटक श्रेष्ठलाई सहयोगकीका रूपमा कातामा मन्डेकाजी श्रेष्ठले साथ दिइरहेका छन् । उनी काताका मुख्य प्रशिक्षकका रूपमा रहेका छन् । १३औँ दक्षिण एसियाली खेलकुदमा कराँतेमा दोहोरो स्वर्ण जितेका मन्डेकाजीले लामो समयको निरन्तर अभ्यास र प्राविधिक निपुणताले गर्दा यसपटक नेपालले ऐतिहासिक जित निकाल्ने बताए । कराँतेबाट सात स्पर्धामा आठ खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् । कुमुते (फाइट)तर्फ पुरुषमा ५० केजीमुनि राकेश मानन्धर, ५५ केजीमुनि मीनबहादुर तामाङ र ८४ केजीमाथि तेन्जिङ शेर्पा भिड्नेछन् । महिलातर्फ ६८ केजीमुनि निरूपा दोङ तामाङ र ६८ केजीमाथि एरिकाले आफ्नो चुनौती प्रस्तुत गर्नेछन् । कातातर्फ सानुमाया थिङले व्यक्तिगत र टिम दुवै विधामा भाग लिनेछिन् । एलिसा रासकोटी मगर र मेघा लिम्बूले टिम कातामा आफ्नो कौशल देखाउनेछन् । एसियाडमा नेपालले पहिलोपटक महिला टिम कातामा सहभागिता जनाउन लागेको हो ।
इजिप्टमा वैदेशिक प्रशिक्षण सम्भावना
नेपाली कराँते टोलीले जापान प्रस्थान गर्नुअघि इजिप्टमा वैदेशिक प्रशिक्षण गर्ने सम्भावना रहेको छ । इजिप्टमा पछिल्लो समयमा विश्व च्याम्पियन खेलाडी भएकाले उनीहरूसँग अभ्यास गर्न पाउँदा नेपाली खेलाडीहरूले थप एक्सपोजर पाउने प्रशिक्षक कुशलले बताए । ‘एसियाड सुरु हुनुअगाडि हामी इजिप्ट जान सक्छौँ । त्यहाँ पछिल्लो समयमा विश्वस्तरीय खेलाडी छन् । उनीहरूसँगको प्रतिस्पर्धा महत्वपूर्ण हुन सक्छ,’ उनले भने । यदि इजिप्ट जान सकिएन भने नेपाली टोली २०औँ एसियाड सुरु हुनु १० वा १५ दिनअघि जापान जानेछन् । ‘वैदेशिक प्रशिक्षण सम्भवतः भएन भने हामी कम्तीमा १५ दिनअघि जापान गएर प्रशिक्षण गर्छौँ,’ कुशलले भने ।
एसियाडमा ३१ वर्षको यात्रा
सन् १९९४ मा जापानको हिरोसिमामा नेपालले पहिलोपटक एसियाडमा कराँतेमा प्रतिस्पर्धा गरेको थियो । अहिलेसम्म नेपाली कराँतेको ३१ वर्षे यात्रा भएको देखिन्छ । सीताकुमारी राईले नेपाललाई कराँतेमा पहिलो कांस्य दिलाइन् । सन् १९९८ मा सम्बरबहादुर गोलेले कांस्य जिते । त्यसपछि नेपालले कराँतेमा कांस्य जित्न १६ वर्ष लगायो । सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाडमा विमला तामाङले अन्तिम समयमा नेपाललाई पदकविहीन जोगाउँदै कांस्य जितेकी थिइन् । त्यसपछि सन् २०२३ को हाङझाउमा एरिकाले ऐतिहासिक रजत पदक जितिन् ।
लगातार प्रशिक्षणमा खेलाडी : कुशल श्रेष्ठ, प्रशिक्षक, कराँते
हामी लगातार तीन वर्षदेखि प्रशिक्षणमा छौँ । यस किसिमको प्रशिक्षणले खेलाडीहरूको क्षमता निकै वृद्धि भएको छ । खेलाडीहरूले बिहान आठ बजेदेखि साढे १० बजेसम्म प्रशिक्षण गरिरहेका छन् । त्यसपछि दिउँसो ३ः३० देखि साँझ ६ बजेसम्म फेरि अभ्यासमै व्यस्त हुन्छन् । यस किसिमको प्रशिक्षणका आधारमै नेपालले यसपटक कराँतेमा स्वर्णका लागि दावेदारी दिने छ । इजिप्टमा थप वैदेसिक प्रशिक्षण गर्न अवसर पाउँदा थप राम्रो हुने छ ।