सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

काठमाडौंका विभिन्न सामुदायिक विद्यालयको स्थलगत निरीक्षणका क्रममा मन्त्री पोखरेलले विद्यालयको वास्तविक अवस्था बुझेर शिक्षक, विद्यार्थी तथा सरोकारवालाबाट प्राप्त सुझावलाई शिक्षा सुधारसम्बन्धी नीति निर्माणमा समेटिने बताए।

उनले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि आवश्यक नीतिगत तथा व्यावहारिक पहल अघि बढाइने पनि बताए। मन्त्री पोखरेलले राम आधारभूत स्कुल, मदन-आश्रित आदर्श मावि, बाल विकास आधारभूत स्कुल र गणेश माविको स्थलगत अवलोकन गरेका थिए।

अवलोकनका क्रममा उनले विद्यालयको शैक्षिक अवस्था, पठनपाठन, व्यवस्थापन, पूर्वाधार तथा विद्यार्थीका समस्या र आवश्यकताबारे जानकारी लिए। साथै, प्रधानाध्यापक, शिक्षक र विद्यार्थीसँग प्रत्यक्ष संवाद गरी विद्यालयमा देखिएका समस्या, चुनौती तथा सुधारका आवश्यकताबारे छलफल गरेका थिए।

मन्त्री पोखरेलले सोमबारदेखि काठमाडौंका विभिन्न सामुदायिक विद्यालयको स्थलगत अवलोकन सुरु गरेका हुन्।

सुझावित समाचार