श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको आरोप लगाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सरकारका विभिन्न मन्त्रालयको कार्यसम्पादन र जवाफदेहितामाथि प्रश्न उठाए । प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्मले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न नसकेको उनको दाबी थियो ।
राईले सीमा सुरक्षा, शान्ति–सुरक्षा, मल तथा खाद्यान्न आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रणजस्ता जनसरोकारका आधारभूत विषयमा सरकार असफल भएको आरोप लगाए । उनले प्रधानमन्त्री संसदमा उपस्थित भएर जनताका प्रश्नको दफावार जवाफ दिनुपर्ने मागसमेत गरे ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराउँदै राईले सुनसरीको रामधुनी– ७ मा रहेको ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको विषयमा बस्तीवासीलाई न्याय दिलाउन माग गरे ।
त्यस्तै, धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको अर्बौँ रुपैयाँ जोखिममा रहेको उल्लेख गर्दै उनले पीडितको रकम फिर्ताका लागि सरकारले तत्काल पहल गर्नुपर्ने बताए ।
‘सहकारीपीडितले पैसा फिर्ता पाएका छैनन्, न्यायालयमा न्याय छैन र अस्पतालमा उपचार पाउने अवस्था छैन,’ राईले भने, ‘सरकार संसद्प्रति र संसद् जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्छ, अन्यथा हाम्रो बहसको कुनै अर्थ रहँदैन ।’
विकास निर्माणका विषयमा समेत राईले सुनसरी– १ सहित देशभरका विकास आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गरे ।