स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार क्युलेक्स प्रजातिको लामखुट्टेले टोक्दा जापानिज इन्सेफ्लाइटिसको संक्रमण हुन्छ ।
‘क्युलेक्स प्रजातिको लामखुट्टेले टोक्यो भने यो संक्रमण हुने हो, असारदेखि असोजसम्मको मौसम यस्तो प्रकारको रोग सार्ने लामखुट्टेको लागि उपयुक्त हुन्छ,’ उनले भने, ‘क्युलेक्स प्रजातिको लामखुट्टेले कुखुरा, गाई, भैँसी, सुँगर र हाँस आदिलाई टोक्छ । त्यही लामखुट्टेले मानिसलाई टोक्यो भने जापानिज इन्सेफ्लाइटिस हुन्छ ।
यस्तो प्रकारको लामखुट्टेले धान खेतमा बढी फुल पार्छ । त्यहीँबाट बढी फैलिन्छ ।’ चिकित्सकहरूका अनुसार लामखुट्टे नष्ट अभियानले मात्रै नियन्त्रण हुँदैन । डेंगु गराउने एडिस प्रजातिको लामखुट्टे सानो भाँडाको पानी वा सफा पानीमा बस्ने भएकाले नियन्त्रण सम्भव भए पनि जेई गराउने लामखुट्टे पोखरी, धानखेत, जनावर भएको स्थान र धेरै पानी जम्मा भएको स्थानमा हुने भएकाले यसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । जेईबाट जोगिने मुख्य उपाय भनेको सचेतता र खोप नै रहेको चिकित्सकहरूको भनाइ छ ।
यो प्रजातिको लामखुट्टे बिहान र साँझको समयमा बढी सक्रिय हुन्छ । टोकाइबाट जोगिन जाली तथा झुलको प्रयोग गर्न, पशुपक्षीलाई टोकाइबाट जोगाउन, धानखेतमा जाँदा बढी सजग हुन र शरीर छोप्ने गरी लुगा लगाउन डा. गौतमको सुझाव छ । जेईका कारण उच्च ज्वरो आउने र जोडले टाउको दुख्ने हुन्छ । बिरामीको होस नै हराउने बनाउँछ । बोल्दाबोल्दै बिरामी बेहोस हुन्छ । मुख्यतः दिमागमा असर गर्ने भएकाले मानसिक रूपमा विक्षिप्त पार्न सक्छ । कसैलाई त प्यारालाइसिस गराइदिन्छ । डा. गौतमका अनुसार छिटो उपचार भए निको हुने र ढिलो गर्दा मृत्यु हुने जोखिम हुन्छ । भ्याक्सिन लगाएको व्यक्ति ९५ प्रतिशत सुरक्षित रहने उनले बताए ।