गत आर्थिक वर्ष ०८२/८३ मा जीवन तथा निर्जीवन बिमा कम्पनीहरूको खुद नाफा घटेको छ । अहिले नेपालमा १४–१४ जीवन तथा निर्जीवन बिमा छन् । त्यसमा दुवै क्षेत्रका कम्पनीहरूको औसत खुद नाफामा गिरावट आएको हो । जेन–जी आन्दोलनपछि बढेको दाबी तथा घट्दो बैंक ब्याजदरले बिमा कम्पनीको नाफा प्रभावित भएको देखिन्छ । बिमा कम्पनीहरूले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
जीवन बिमा कम्पनीको नाफा ६४ करोड घट्यो
समीक्षा वर्षमा जीवन बिमा कम्पनीहरूको नाफा औसतमा १०.५२ प्रतिशतले घटेको छ । अघिल्लो आव ०८१/८२ मा १४ बिमा कम्पनीको कुल खुद नाफा ६ अर्ब आठ करोड ६० लाख ६० हजार रुपैयाँ थियो । गत आवमा भने पाँच अर्ब ४४ करोड ५२ लाख १७ हजार रुपैयाँ नाफा कमाएका छन् । त्यसमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बिमा कम्पनी दुई करोड ३८ लाख रुपैयाँले घाटामा छ ।
बिमा कम्पनीहरूको मुख्य आम्दानीको स्रोतको बैंकहरूबाट प्राप्ति हुने ब्याज हो । बिमा कम्पनीहरूले आफूसँग भएको लगानीयोग्य रकममा अधिकांश मुद्दती निक्षेपमा राख्छन् । पछिल्लो समय कर्जाको माग नभएपछि बैंकहरूले निक्षेपको ब्याजदरसमेत घटाउँदै आएका छन् । त्यसले गर्दा बिमा कम्पनीहरूको आम्दानीसमेत प्रभावित भएको बताइन्छ । लेखा परीक्षणका क्रममा कम्पनीको नाफा रकम थपघट हुन सक्नेछ ।
समीक्षा वर्षमा आइएमई लाइफले सबैभन्दा धेरै ५८ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रो स्थानमा भने रिलायबल नेपाल लाइफ छ । उक्त कम्पनीले ५८ करोड २६ लाख रुपैयाँ नाफा कमाएको तथ्यांकमा उल्लेख छ । तेस्रो स्थानमा भने नेपाल लाइफ इन्स्योरेन्स देखिएको छ । उक्त कम्पनीले ४६ करोड ५४ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ ।
यस्तै, सन नेपाल लाइफले ४१ करोड ८५ लाख, एसियन लाइफले ४१ करोड ४२ लाख, एलआइसी नेपालले ४० करोड ५७ लाख, सिटिजन लाइफले ३९ करोड आठ लाख र सानिमा लाइफले ३८ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यस्तै, सूर्यज्योति लाइफले ३८ करोड दुई लाख, मेट लाइफले ३७ करोड ९२ लाख, प्रभु महालक्ष्मी लाइफले ३७ करोड ५५ लाख, नेसनल लाइफले ३७ करोड ६ लाख र हिमालयन लाइफले ३१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर, सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनी भने दुई करोड ३८ लाख रुपैयाँले घाटामा छ ।
आन्दोलनको क्षतिले घटायो निर्जीवनको नाफा
समीक्षा वर्षमा १४ निर्जीवन बिमा कम्पनीको नाफा ३८.४९ प्रतिशतले घटेको छ । अघिल्लो आवमा उनीहरूको खुद नाफा चार अर्ब ४३ करोड ६८ लाख रुपैयाँ थियो । गत आवमा भने दुई अर्ब ७२ करोड ९० लाख रुपैयाँ खुद नाफा भएको छ ।
बैंकको ब्याजदर घट्दा पनि निर्जीवन बिमा कम्पनीको आम्दानी प्रभावित भएको छ । तर, समीक्षा वर्षमा मुख्यतः जेन–जी आन्दोलनका कारण उच्च मात्रामा बिमा दाबी आउँदा उनीहरूको नाफा प्रभावित भएको छ । त्यसमा नेसनल इन्स्योरेन्स १३ करोड १० लाख रुपैयाँले घाटामा छ । अधिकांश कम्पनीको नाफा घटेको छ ।
गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनमा क्षतिग्रस्त भएका घर, गाडीलगायत बापत झन्डै २४ अर्ब रुपैयाँबराबरको बिमा दाबी परेको छ । यो नियमित नभएर आकस्मिक रूपमा आएको बिमा दाबी हो । त्यसले नाफा नमज्जाले प्रभावित भएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सिइओ चंकी क्षेत्री बताउँछन् ।
समीक्षा वर्षमा दिन ओरियन्टल इन्स्योरेन्सले सबैभन्दा धेरै ४९ करोड चार लाख खुद नाफा कमाएको छ । दोस्रो स्थानमा सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनी छ । उक्त कम्पनीले ३४ करोड ४४ लाख नाफा कमाएको तथ्यांकमा उल्लेख छ । तेस्रो स्थानमा रहेको हिमालयन एभरेस्टले ३३ करोड ७८ लाख नाफा कमाएको छ ।
यस्तै, सिद्धार्थ प्रिमियरले ३२ करोड ६८ लाख, सगरमाथा लुम्बिनीले ३१ करोड ३० लाख, नेकोले २८ करोड ८३ लाख, प्रभुले २४ करोड ६४ लाख, शिखरले १३ करोड ८९ हजार, सानिमा जिआइसीले १३ करोड ३९ लाख र नेपाल इन्स्योरेन्सले १२ करोड ७५ लाख खुद नाफा कमाएका छन् । यस्तै, युनाइटेड अजोडले ६ करोड ३० लाख, एनएलजीले पाँच करोड ७८ लाख र आइजिआई प्रुडेन्सियलले ४० लाख ३८ हजार रुपैयाँ नाफा कमाएको छ । नेसनल इन्स्योरेन्स भने १३ करोड १० लाख रुपैयाँले घाटामा छ ।