इन्डोनेसियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । भूकम्पमा अझ कैयौँ हराइरहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । ७.७ म्याग्निच्युडको उक्त भूकम्पका कारण पाँच हजार मानिस विस्थापित भएका छन् । स्थानीय समयअनुसार शनिबार बिहान ५ः०० बजे फ्लोरेन्स टापुमा शक्तिशाली भूकम्प गएको थियो । यसको केन्द्रविन्दु १५ किलोमिटरको गहिराइमा रहेको थियो ।
केन्द्रविन्दु कम गहिराइको भएकाले ठुलो क्षति भएको अनुमान गरिएको छ । भूकम्प र त्यसपछि आएका दर्जनौँ परकम्पका कारण प्रभावित क्षेत्रका भवनमा क्षति पुगेको छ । फ्लोरेस क्षेत्रमा शक्तिशाली परकम्प महसुस गरिएको थियो । भूकम्पमा हराइरहेका मानिसको खोजीमा ठुलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।
माउमेरे बन्दरगाहमा खिचिएको एउटा भिडियोमा टर्मिनल भवनबाट कंक्रिटको ठुलो टुक्रा खसेर टापुहरूबिच चल्ने फेरि चढ्न पर्खिरहेका यात्रुहरूमाथि परेको देखिन्छ । जहाजमा चढ्न प्रयोग गरिने बाटो भत्किँदा केही मानिसहरू समुद्रमा खसेका बिबिसीले जनाएको छ ।
खोज तथा उद्धार कार्य अघि बढ्दै गर्दा मृतकको आधिकारिक संख्या बढिरहेको छ । भूकम्पपछि धेरै मानिस विभिन्नस्तरमा घाइते भएका विपत् व्यवस्थापन निकायले जनाएको छ । भूकम्पलगत्तै सुनामीको चेतावनी जारी गरिएको भए पनि, समुद्रको सतहमा कुनै उल्लेखनीय वृद्धि नदेखिएपछि पहिलो धक्काको करिब तीन घण्टापछि सो चेतावनी हटाइयो । अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेपछि मानिसहरूको लर्को मोटरसाइकलमा चढेर जमिनको भित्री भागतिर गइरहेको देखिन्थ्यो ।