नेतृत्वमा देखिएको विवाद छिनोफानो गर्न एमाले बागमती प्रदेश संसदीय दलको बैठक भदौ २ गते मंगलबार बस्ने भएको छ। बागमती प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य तीव्र भइरहेका वेला एमाले बागमती प्रदेश संसदीय दलभित्रको नेतृत्व विवाद टुंग्याउन बैठक बस्न लागेको हो।
एमाले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा बिहान ११ बजे बस्नेछ। बैठकमा प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलियाबिरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।
बागमती प्रदेशमा नयाँ सरकार गठनको रस्साकसी चलिरहेका वेला एमालेभित्र दलका नेता थपलियालाई हटाउन गत बुधबार मात्र संसद् सचिवालय र संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । नेता थपलियाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा सांसद किरण थापालाई दलको नेता बनाउन प्रस्ताव गरिएको छ ।
प्रदेशका पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् । उनकै प्रस्तावमा दलका नेता थपलियालाई हटाएर थापालाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो । थापाको पक्षमा १४ जना सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् भने दुईजना सांसदले मौखिक सहमति दिएको थापा पक्षको दाबी छ ।
पार्टीको शीर्ष नेतृत्वले नै संसदीय दलको नेता परिवर्तनको लागि अविश्वासको प्रस्ताव दर्ता गर्न लगाएको एमालेभित्रै चर्चा छ । यद्यपि, दलका नेता जगन्नाथ थपलिया भने अविश्वास प्रस्तावको सामना गर्ने पक्षमा देखिएका छन् ।
स्वास्थ्य उपचारपछि घर फर्किएका उनले यसअघि सार्वजनिक वक्तव्यमार्फत आफ्नो स्वास्थ्यमा सुधार भइरहेको र पार्टीलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको बताएका थिए ।
यसअघि एमालेले साउन ६ गते कांग्रेस नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । लगत्तै साउन ९ गते एमाले र नेकपाबिच वामगठबन्धनको सरकार बनाउने सहमति भएको थियो ।
उक्त सहमतिअनुसार बागमती प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्न पाउनेछ। तर, प्रदेश सभामा स्पष्ट बहुमत जुटाउन नसकिरहेका वेला एमालेभित्रै संसदीय दलको नेतृत्व विवाद चर्किएपछि नयाँ सरकार गठनको प्रक्रिया पनि प्रभावित हुने देखिएको छ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ ।