नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो धार्मिक आस्था हिन्दु धर्मप्रति रहेको स्पष्ट पार्दै आफू कुनै धर्म वा समुदायको विरोधमा नरहेको बताएका छन्।
कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले नेपाल बहुधार्मिक तथा बहुसांस्कृतिक समाज भएकाले सबै धर्म र समुदायप्रति समान सम्मानको भावना आवश्यक रहेको बताए।
देउवाले आफूलाई हिन्दुका रूपमा पहिचान गर्न तथा हिन्दु धर्मप्रति आस्था राख्न पाउने अधिकार रहेको उल्लेख गरे। आफ्नो धार्मिक पहिचानलाई लिएर गलत अर्थ लगाउन नहुने उनको भनाइ थियो।
नेपालमा मुस्लिम, किराँतलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक समुदायको महत्त्वपूर्ण उपस्थिति रहेको उल्लेख गर्दै देउवाले आफू कुनै पनि धर्म वा समुदायको विपक्षमा नरहेको प्रस्ट पारे।
उनले व्यक्तिगत धार्मिक आस्था र अन्य धर्म तथा समुदायप्रतिको सम्मान फरक विषय भएको बताउँदै सबै समुदायबिच सहिष्णुता र आपसी सम्मान कायम हुनुपर्नेमा जोड दिए।