अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा बंगलादेश बलियो

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण
  • पहिलो टेस्टमा घरेलु टोली अस्ट्रेलिया दोस्रो इनिङ्समा ६७ रनले पछाडि

अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा पाहुना टोली बंगलादेश बलियो स्थितिमा रहेको छ । टेस्टको तेस्रो दिन शनिबारको खेल समाप्तिसम्म अस्ट्रेलिया दोस्रो इनिङ्समा ६७ रनले पछि रहेको छ । बंगलादेशले पहिलो इनिङ्समा ४२६ रनको योगफल खडा गर्दै २२८ रनको अग्रता लिएको थियो । प्रत्युत्तरमा अस्टेलियाले दोस्रो इनिङ्समा चार विकेट गुमाएर १६१ रन बनाएको छ । इनिङ्सको हारबाट जोगिन र बंगलादेशलाई पुनः ब्याटिङ गराउन अस्ट्रेलियाले थप ६९ बनाउनुपर्नेछ ।

बंगलादेशका कप्तान नजमुल होसेन सान्टोले लगातार उत्कृष्ट खेल प्रदर्शनका कारण अस्ट्रेलियन भूमिमा आफूहरू बलियो स्थितिमा रहेको बताएका छन् । ‘हामीले लगातार तीन दिन ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका छौँ । मलाई विश्वास छ योपटक यहाँ ऐतिहासिक जित हुनेछ,’ सान्टोले भने, ‘चौथो दिनको सुरुमै अस्ट्रेलियाको विकेट लिने प्रयास गर्छौँ ।’

अस्ट्रेलिया घरेलु मैदानमा कमजोर हुनुको पछाडि बंगलादेशका फास्टबलर हसन महमुदले करिअरकै उत्कृष्ट बलिङ गरेका थिए । उनले पहिलो इनिङ्समा ५५ रन खर्चेर सर्वाधिक ६ विकेट हात पारेका थिए । यसक्रममा उनले ज्याक वेथल्यान्ड र टेभिस हेडका महŒवपूर्ण विकेट लिन सफल भए । अस्ट्रेलिया अहिलेसम्म घरेलु मैदानमा बंगलादेशसँग पराजित भएको छैन । सन् २०१७ मा अस्ट्रेलिया अन्तिमपटक बंगलादेशसँग मिरपुर टेस्टमा पराजित भएको थियो । तेस्रो दिनमा बंगलादेशले स्कोर बोर्डमा थप ७५ रन जोडेको थियो । दोस्रो दिनको खेल समाप्तिसम्म बंगलादेशले ३५१/६ को प्रदर्शन गरेको थियो । अस्ट्रेलियाका लागि जोस हेजलउडले ८९ रन खर्चेर ६ विकेट लिएका थिए । उनले टेस्टमा तीन सय विकेट पूरा गरेका छन् ।

एलेक्स र ग्रिनको आशा
अस्ट्रेलियाका लागि क्रिजमा एलेक्स क्यारी तथा क्यामरु ग्रिन नटआउट रहेका छन् । उनीहरूले पाँचौँ विकेटका लागि १५.४ ओभरमा ३९ रनको साझेदारी गरेका छन् । दुवैले ३७.२ ओभरमा १२२/४ को अवस्थाबाट ब्याटिङ गरेका थिए । बंगलादेशले लन्चपछि स्टिभ स्मिथको महŒवपूर्ण विकेट लिएपछि अस्ट्रेलिया दबाब आएको थियो । स्मिथले ८८ बलमा ४४ रन बटुलेका थिए । एलेक्सले ५० बलमा तीन चौका प्रहार गरी १९ रन बनाए । ग्रिनले ८६ बलमा दुई चौकाको सहयोगमा ४३ रन जोडेका छन् ।

अस्ट्रेलियाको दोस्रो इनिङ्स कमजोर बनेको थियो । हसनले ज्याकलाई शून्य रनमै बोल्ड गरेका थिए । तैजुल इस्लामले मार्नोसलाई ३१ रनमा आउट पारे । उनले ५९ बलमा दुई चौका प्रहार गरेका थिए ।

तान्जिनको शतकीय इनिङ्स
बंगलादेशका तीन ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि अस्ट्रेलिया कमजोर बनेको हो । ओपनर तान्जिन हसनले शतकीय इनिङ्सका रूपमा १०१ रन बनाए । उनले १९७ बलमा आठ चौका र एक छक्का प्रहार गरेका थिए । बंगलादेशले दोस्रो विकेटका लागि १०२ रनको साझेदारी गरेको थियो । तान्जिनले मोमिनुल हकसँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । मोमिनुलले ९५ बलमा ४९ रन बनाए । यसैगरी, कप्तान सान्टोले १२६ बलमा सात चौका र एक छक्का प्रहार गरी ८४ रन बनाए । तान्जिन र सान्टोबिच तेस्रो विकेटका लागि ९३ रनको साझेदारी भएको थियो । मेहदी हसनले पाँच चौका र एक छक्काको सहयोगमा ६५ रन बनाए । 

सुझावित समाचार