निर्माणाधीन टर्मिनल भवनको सेफ्टी ट्यांकीमा डुबेर ११ वर्षीय बालकको मृत्यु

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

रारा विमानस्थलको निर्माणाधीन टर्मिनल भवनको सेफ्टी ट्यांकीमा जम्मा भएको पानीमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ।

छायानाथ रारा नगरपालिका–४ स्थित रारा (ताल्च) विमानस्थलको निर्माणाधीन टर्मिनल भवनमा रहेको शौचालयको करिब १४ फिट गहिरो सेफ्टी ट्यांकीमा जम्मा भएको पानीमा पौडी खेल्ने क्रममा स्थानीय जयबहादुर भामका ११ वर्षीय छोरा गौरव भामको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रविराज थपलियाका अनुसार शनिबार दिउँसो करिब २:४० बजे सेफ्टी ट्यांकीनजिकै बालकका लुगा र चप्पल देखेपछि स्थानीयले विमानस्थलका सुरक्षा गार्डलाई घटनाबारे जानकारी गराएका थिए।

घटनाको जानकारी पाएलगत्तै सहायक प्रहरी निरीक्षक बिर्खराज गुरुङको कमान्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयको सहयोगमा ट्यांकीमा जम्मा भएको पानी बाहिर निकालेपछि बालकलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी निरीक्षक नवीनकुमार शाहीको कमान्डमा पाँच सदस्यीय टोली घटनास्थलतर्फ खटाइएको छ।

मृतक बालकका आफन्त तथा विमानस्थलआसपासका होटेल व्यवसायीहरूले निर्माणाधीन टर्मिनल भवनको कामको जिम्मा लिएको ठेकेदार पक्षको लापरबाहीका कारण बालकको ज्यान गएको आरोप लगाएका छन्। उनीहरूले विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा सेफ्टी ट्यांकी खुला अवस्थामा छाडिएको तथा त्यसको वरिपरि घेरबार र जोखिमबारे जानकारी दिने कुनै संकेत नराखिएको बताएका छन्।

डिएसपी थपलियाले घटनाको थप अनुसन्धान भइरहेको र मृतक बालकका आफन्तसँग आवश्यक समन्वय तथा सहजीकरण भइरहेको जानकारी दिए।

सुझावित समाचार