एसिसी प्रिमियर कपको तयारी भारतमा

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण
एसिसी प्रिमियर कपको तयारी भारतमा

एसिसी प्रिमियर कपको तयारी गर्न भारतमा प्रस्थान गर्नुअघि नेपाली टोली । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

  • एसिया कपको छनोट आधार मानिएको एसिसी प्रिमियर कपको तयारीका लागि नेपालले भारतको बेंग्लोरमा १० दिनको प्रशिक्षण गर्ने

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले एसिसी प्रिमियर कपको तयारी भारतमा गर्ने भएको छ । नेपाली टोली तयारीका लागि शुक्रबार भारतको बेंग्लोर प्रस्थान गरेको छ । बेंग्लारमा दश दिनको प्रशिक्षणपछि टोली एसिसी प्रिमियर लिगमा सहभागी हुन मलेसिया जानेछ । मलेसिया प्रस्थान गर्नुअघि नेपालले बेंग्लोरमा दुईवटा अभ्यास खेल खेल्नेछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार मलेसियामा पनि नेपालले पाँच दिन तयारी गर्नेछ ।

एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’मा छ । नेपालले समूह चरणमा हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबियासँग खेल्नेछ । समूह ‘बी’मा युएई, ओमान, कुवेत, कतार र सिंगापुर छन् । नेपालले पहिलो खेल १५ भदौमा बहराइनसँग खेल्नेछ । नेपालले १८ भदौमा घरेलु टोली मलेसियाविरुद्ध खेल्नेछ । नेपाल र साउदी अरेवियाबिचको खेल २१ भदौमा रहेको छ । नेपालले समूह ‘ए’को अन्तिम खेलमा बलियो प्रतिद्वन्द्वी हङकङविरुद्ध २३ भदौमा खेल्ने क्यानले जनाएको छ ।

समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको सेमिफाइनल २५ भदौमा हुनेछ । २७ भदौमा तेस्रो र फाइनल खेल हुनेछ । सन् २०२७ को एसिया कपमा छनोट हुन नेपाल एसिसी प्रिमियर कपको शीर्ष तीन टोलीभित्र रहनुपर्नेछ । नेपालले पछिल्लो संस्करणमा सहभागितना जनाएको थियो । रोहितकुमार पौडेलको कप्तानीमा नेपालले पहिलोपटक एसिया कपमा सहभागिता जनाएको थियो । नेपालले भारत र पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो । नेपालले यी दुवै पूर्वविश्व च्याम्पियनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो ।

नेपालको लक्ष्य उपाधि
नेपालका नवनियुक्त कप्तान सन्दीप लामिछानेले एसिसी प्रिमियर कप जित्नु नै मुख्य लक्ष्य रहेको बताएका छन् । क्यानले प्रतियोगितामा सहभागी हुनु र भारतमा प्रशिक्षण जानुअघि शुक्रबार आयोजित बिदाइ कार्यक्रममा कप्तान सन्दीपले ट्रफी घरमा लिएर आउने बताए । ‘हाम्रो मुख्य लक्ष्य ट्रफी घर लिएर आउन हामी प्रयास गर्नेछौँ,’ सन्दीपले भने । भारतमा प्रशिक्षण गर्दा मलेसियाको मौसमसँग घुलमेल हुने उनको भनाइ छ ।

‘बेंग्लोरमा हुने क्याम्प हाम्रा लागि राम्रो हो । त्यहाँ मलेसियासँग मिल्दोजुल्दो मौसममा अभ्यास गर्नेछौँ,’ उनले भने, ‘पछिल्लो प्रतियोगितामा भएका गल्ती सुधारेर एसिसी प्रिमियर कपमा सहभागी हुँदै छौँ ।’ चार वर्ष रोहितको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका सन्दीपले परिवर्तनलाई सकारात्मक रूपमा आफूले लिएको बताए । सन्दीपले रोहितको ‘लिगेसी’लाई निरन्तरता दिने प्रयास हुने जनाए । ‘रोहितले छाडेको विरासतलाई अगाडि बढाउँदै कप्तानीमा आएको परिवर्तनलाई सकारात्मक रूपमा लिएको छु,’ उनले भने, ‘कप्तानी परिवर्तनलाई व्यक्तिगत विषयका रूपमा नभई नेपाली क्रिकेट र टोलीको हितमा आएको परिवर्तनका रूपमा लिनुपर्छ ।’ रोहितले सन् २०२२ देखि २०२६ सम्म नेपालको कप्तानी गरेका थिए । उनी लगातार चार वर्ष नेपालका एकदिवसीय तथा टी–२० आईका कप्तान बनेका थिए । यो क्रममा उनले नेपाललाई एकपटक एसिया कप तथा दुईपटक टी–२० विश्वकपमा स्थान दिलाउन सफल भए । तर, नेदरल्यान्ड्सको भ्रमणमा नेपालले आइसिसी विश्वकप लिग–२ मा कमजोर प्रदर्शन गरेपछि रोहितले आफ्नो कप्तानी गुमाए । 

एसोसिएटमा बलियो टोली बनाउने 
सन्दीपले आगामी दिनमा नेपाललाई समग्र एसोसिएट राष्ट्रमा बलियो बनाउने जनाए । ‘नेपाललाई एसोसिएट क्रिकेटको बलियो टोलीका रूपमा स्थापित गर्ने लक्ष्य हो,’ उनले भने, ‘त्यसका लागि तत्काल ठुलो परिवर्तनभन्दा दीर्घकालीन र व्यवस्थित योजनाका साथ अघि जानुपर्छ ।’ उनले घरबाहिर नेपालले सोचेजस्तो प्रदर्शन गर्न नसक्दा नै विश्वकप लिग–२ मा कमजोर बनेको विश्लेषण गरेका छन् । ‘हामीले विश्वकप लिग–२ का पछिल्ला दुई भ्रमणमा जसरी खेल्नुपर्ने थियो, खेल्न सकेनौँ । हामीले आफ्नोतर्फबाट उत्कृष्ट प्रयास गरेका थियौँ,’ कमजोरीबारे उनी भन्छन्, ‘केही खेलमा हामी सामान्य कमजोरीका कारण चुक्यौँ । ‘अब ती गल्तीलाई सुधार गर्दै आगामी भ्रमणमा राम्रो योजनाका साथ अगाडि बढ्नेछौँ ।’

कप्तान परिवर्तन गर्नु आवश्यक
क्यानका सचिव पारस खड्काले खेलाडीलाई बिदाइ गर्दै नेपाली क्रिकेटको विकासका लागि कप्तान परिवर्तनको आवश्यकता भएको बताए । ‘अहिलेको अवस्थामा कप्तान परिवर्तन गर्नुपर्ने आवश्यकता थियो । 

यसको उद्देश्य नेपाली क्रिकेटको विकासका लागि हो,’ खड्काले भने, ‘क्रिकेटिङ नेसन्सका रूपमा ग्रो हुने उद्देश्य छ । टोलीमा को खेलाडी पर्‍यो भन्नेभन्दा पनि राम्रो प्रदर्शन गर्नुपर्छ ।’ उनले सुरुमा नेपालले भारतमा प्रशिक्षण गर्ने र त्यहाँबाट नेपाल फर्केर मलेसिया जाने योजना रहेको बताए । तर, समय अभावका कारण भारतमा प्रशिक्षण गरेर टोली मलेसिया जानुपर्ने भएको उनको भनाइ छ । 

‘प्रिमियर कपको तयारीका लागि भारत जाने र भारतबाट नेपाल फर्केर मलेसिया जाने तयारी थियो, तर शुक्रबार बिहान मात्रै नेपाली टोली भारतमा तयारी गरेर सिधै मलेसिया जाने भएकाले हतारमा बिदाइ कार्यक्रम आयोजना गर्नुपर्‍यो,’ पारसले भने । क्यान क्रिकेट निर्देशक विनोद दासले भारतमा दुई अभ्यास म्याच खेलेर नेपाली टोली मलेसिया जाने र मलेसियामा पनि क्याम्प हुने बताए । मलेसियामा दुई अभ्यास खेलका लागि प्रयास गरिरहेको उनले बताए । 

सुझावित समाचार