लुम्बिनीमा सरकार बनाउन मसालसँग ओली–प्रचण्डको सहमति

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

एमाले र नेपाली कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टी नेकपा मसालसँग सत्ता सहकार्यको सहमति गरेसँगै लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार सुरक्षित भएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार अल्पमतमा परेका कारण पाँच दिनपछि १ भदौमा विश्वासको मत लिने तयारी गरिरहेकै वेला एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बुधबार मसालका महामन्त्री मोहनविक्रम सिंहसँग सत्ता सहकार्य गर्ने विषयमा दुईबुँदे लिखित सहमति गरेका हुन् ।

सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने विषय उल्लेख छ । त्यस्तै, सहमतिको दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्ध आन्दोलनमा सहकार्य गर्ने उल्लेख छ ।

लुम्बिनी प्रदेश सभामा तत्काल कायम ८३ सिट रहेकाले सरकार सुरक्षित हुन बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । एमाले र नेकपाको नयाँ समीकरण सुरु भएसँगै कांग्रेस सरकारबाट बाहिरिएपछि बहुमत जुटाउन एक सिट पुगेको थिएन । एमालेका २९ र नेकपाका १२ (सभामुखबाहेक) छन् । 

सुझावित समाचार