संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्किएमा नेटो शिखर सम्मेलनपछि सुरक्षा खतराका कारण गोप्य रूपमा फरक विमानमा उडेको घटनाको पुष्टि गरेका छन् । पूर्वनिर्धारित विमानमा ‘ठुलो जोखिम’ रहेकाले फरक विमानमा उड्नुपरेको उनले बताए ।
टर्कीमा जुलाई ७ र ८ मा सम्पन्न नेटो शिखर सम्मेलनमा भाग लिएर फर्किने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमानलाई काँधमा बोक्न सकिने क्षेप्यास्त्रबाट आक्रमण हुनसक्ने डरले उक्त कदम चालिएको स्रोतलाई उद्धृत गर्दै अमेरिकी मिडियाले लेखेका छन् ।
स्रोतका अनुसार ट्रम्पको सुरक्षामाथिको जोखिम गम्भीर देखिएपछि अमेरिकी अधिकारीले उनलाई नियमित ‘एयर फोर्स वन’ वा कतारले उपलब्ध गराएको विमानबाट फर्काउन असुरक्षित ठानेका थिए । धम्कीमा ट्रम्पको टर्कीस्थित यात्रासम्बन्धी विवरणबारे इरानलाई विशेष जानकारी रहेको देखिएको र त्यसपछि सुरक्षा अधिकारी थप चिन्तित बनेको बताइएको छ । त्यसपछि अमेरिकी सेना र गुप्तचर सेवाका अधिकारीहरूले केही घण्टाभित्रै ट्रम्पलाई अर्को विमानमा सारेर टर्कीबाट बाहिर निकाल्ने योजना तयार गरे ।
‘मैले गुप्तचर सेवा र सेनाको कुरा मान्नुपर्ने हुन्छ । उनीहरूले मलाई फरक विमानमा उड्न सल्लाह दिए,’ पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने । यसअघि अमेरिकी मिडियामा ट्रम्प टर्किएबाट फर्किंदा फरक विमानमा उडेको समाचार छापेका थिए । विशेषतः सम्भावित इरानी आक्रमणको आशंकामा विमान परिवर्तन गरिएको बताइएको थियो । ‘म उड्ने विमान निसानामा पर्ने सम्भावना बढी भएकाले जोखिम उच्च थियो । यसै पनि मलाई धेरै धम्की आउँछन्,’ ट्रम्पले भने ।
अमेरिकी मिडिया रिपोर्टका अनुसार जुलाई ८ मा राष्ट्रपति ट्रम्प पहिले उड्ने तालिका रहेको विमानमा उडिसकेका थिए । पछि फरक मार्गबाट विमानमा खाना ल्याउने ‘क्याटरिङ ट्रक’मा राखेर अर्को (सैन्य) विमानमा सारिएको थियो ।
ह्वाइट हाउसले त्यतिवेला यसबारे केही बताएको थिएन । तर, यो साता ‘द वासिंटन पोस्ट’ पत्रिकाले भित्री स्रोतलाई उल्लेख गर्दै वास्तविकता बाहिर ल्याएको थियो । विमानबाट ट्रम्पलाई अर्को विमानमा सारिएको भए पनि खतरामा रहेको विमान ट्रम्पसँगै टर्किए गएका पत्रकार र ट्रम्पकै शीर्ष सहयोगी लिएर उडेको थियो । द वासिंटन पोस्टको समाचारअनुसार विमानमा रहेका कसैलाई पनि राष्ट्रपति विमानमा नरहेको थाहा दिइएको थिएन ।
संसद्लाई जानकारी नगराएकोमा विरोध
यस प्रकरणमा सिनेटका डेमोक्रेटिक नेता चक सुमरले यस प्रकरणबारे ह्वाइट हाउसले तुरुन्तै कंग्रेसलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । समाचार बाहिरिएपछि विज्ञप्ति जारी गर्दै सुमरले भने, ‘घटनाबारे कंग्रेसलाई गुमराहमा राखियो । यति गम्भीर खतराबारे कंग्रेसले प्रेसमार्फत थाहा पाउनु अस्वीकार्य छ ।’
‘ट्रम्पले अनावश्यक र लापरबाहपूर्ण युद्ध सुरु गरेर अमेरिकी छोराछोरीलाई हानि पुर्याएका छन् । यस प्रशासनले बारम्बार कांग्रेस र जनतालाई उनीहरूले पाउनुपर्ने पारदर्शिता प्रदान गर्न अस्वीकार गरेको छ,’ सुमरले विज्ञप्तिमा भनेका छन् । साथै उनले विपक्षी रिपब्लिकनले ‘अमेरिकाको सुरक्षाभन्दा ट्रम्पको विलासिता र अहंकारलाई प्राथमिकता दिएको’ आरोपसमेत लगाए ।
इरानी आक्रमणको खतराबिच ट्रम्पले विमान फेरेको घटनालाई धेरै इरानी सरकारी मिडियाले महत्व दिएर प्रसारण गरेका छन् । सरकारी समाचार एजेन्सी आइआरएनएले ‘इरानसँग डराएर भागेको ट्रम्पले स्विकारे’ शीर्षकमा समाचार लेखेको छ । त्यस्तै सोही समाचारमा खतराका बाबजुद पत्रकार र अन्य अमेरिकी अधिकारीलाई जोखिमपूर्ण एयर फोर्स वनमा उडाएको कुरालाई पनि जोड दिइएको छ ।
अन्य इरानी राज्य र सुरक्षा–सम्बद्ध मिडियाले अमेरिकी राष्ट्रपतिको गोप्य प्रस्थानको खुला रूपमा खिल्ली उडाउँदै समाचार प्रस्तुत गरे ।