- जिल्ला प्रशासनबाट न्याय नपाएपछि पीडितहरूले सप्तरी प्रहरीमा पनि दिए उजुरी, सबै पीडितको गुहार– हाम्रो जग्गा फिर्ता दिलाऊ, मिटरब्याजी फूलकुमारीलाई कारबाही गर
‘हाम्रो उठीवास भयो, ओत लाग्ने छानो नै रहेन । गरिब हुनु नै हाम्रो सबैभन्दा ठुलो अभिशाप बन्यो । तर, देशमा कानुन छ, न्याय मरेको छैन भन्ने आशा अझै छ,’ मिटरब्याजी साहुकार फूलकुमारी साहको अत्याचारले जायजेथा मात्रै होइन, त्यसको पीडामा श्रीमान्समेत गुमाएकी सप्तरीको खडक नगरपालिका– १०, डंगराहीकी ललितादेवी साहको चीत्कार हो यो ।
ललिताका श्रीमान् दिरिपलाल साहले थ्रेसर मेसिन किन्न फूलकुमारीसँग दुई लाख ऋण लिएका थिए ०७३ मा । चर्को ब्याज (मिटरब्याज)मा ऋण दिएबापत फूलकुमारीले एक कट्ठा ५.५ धुर जग्गा श्रीमान् गयाप्रसादको नाममा दृष्टिबन्धक गरिन् । दिरिपलालले एक लाख ४० हजारसम्म ऋण तिरे, कमाइ नभएपछि बाँकी तिर्न सकेनन् । उनको परिवारले प्रस्ताव गर्यो, ‘ऋणको साँवा र ब्याज हरहिसाब गरी दृष्टिबन्धक राखेको जग्गाबाट १० धुर बेचेर लिनू, अरू जग्गा फुकुवा गरिदिनू ।’ तर, फूलकुमारीले सोही जग्गामा भएको घरसमेत भत्काएर दिरिपलालको परिवारलाई सडकमा पुर्याइदिइन् । त्यही पीडाले दिरिपलाल ०७९ मा आफ्नै शरीरमा करेन्ट लगाएर ज्यान फाल्न बाध्य भए । ललितादेवी १६ र १४ वर्षका दुई छोरा र ११ वर्षकी छोरीसहित दिदीको घरमा आश्रय लिएर बसेकी छिन् ।
फूलकुमारीको अत्याचार ललितादेवीको परिवारमा मात्रै होइन, डंगराही र आसपासका विपन्नको घर–घरमा छ । संयुक्त रूपमा न्यायको खोजीमा निस्किएका १७ पीडितको मात्रै साढे तीन बिघा जग्गा फूलकुमारीले दृष्टिबन्धक गरी कब्जामा राखेको खुलेको छ । यी जग्गा उनले आफू, श्रीमान् गयाप्रसाद र राजगढ गाउँपालिका– ५ घर भएका बुवा भागवत साहु तेलीको नाममा गरेकी छिन् ।
सप्तरी प्रहरीमा १७ पीडितले तीनैजनाविरुद्ध दिएको संयुक्त किटानी जाहेरीमा फूलकुमारीले दृष्टिबन्धक गरेर कब्जा गरेको जग्गाको विवरण छ । जीवछीदेवी सरदारका ससुरा बुधन सरदारको १० कट्ठा, रोनीकान्त (रोहणीकान्त) चौधरीको ८ कट्ठा ६ धुर, जितनीदेवी पासमानका श्रीमान् रामखेलावन पासमानको ७ कट्ठा १३.५ धुर, सगुनीकुमारी सरदारको ६ क कट्ठा ११ धुर, महिनारायण चौधरीको ६ कट्ठा ६.५ धुर र दीपनारायण चौधरीको ४ कट्ठा १२.५ धुर जग्गा फूलकुमारीको नियन्त्रणमा छ । त्यस्तै, पियरियाकुमारी पासमानको ४ कट्ठा, सरस्वतीदेवी साहको ३ कट्ठा १८ धुर, पदुत्रीदेवी वतर्नीको ३ कट्ठा १० धुर, लखन सरदारको ३ कट्ठा ५ धुर पनि उनले दृष्टिबन्धकबाट फुकाइदिएकी छैनन् ।
त्यस्तै, बिलट चौधरीको ३ कट्ठा ५ धुर, उर्मिलादेवी चौधरीका श्रीमान् हरिलाल चौधरीको २ कट्ठा १२.५ धुर, रोहणीकान्त चौधरीकी आमा नथरीदेवी थरुनीको नाममा १ कट्ठा १४.७५ धुर, ललितादेवी साहको १ कट्ठा ५.५ धुर, दुखीलाल सरदारको १ कट्ठा ३.५ धुर, प्रतिलादेवी रसाइलीको १ कट्ठा, धर्मदेव चौधरीको १२.२५ धुर, महिनारायण चौधरीकी सासू लगनीदेवी थरुनीको १०.७५ धुर र जीवछीदेवी सरदारका ससुरा बुधन सरदारको १० धुर फूलकुमारीले आफूलगायत श्रीमान् र ससुराको नाममा दृष्टिबन्धक गरेकी छिन् ।
कतिपयले ऋणको १० गुणासम्म तिरिसक्दा पनि जग्गा फुकुवा नगरेको गुनासो गरेका छन् भने कतिपयले तिर्नुपर्ने बाँकी रकमको हरहिसाब गरेर जग्गा फिर्ता दिन अनुरोध गर्दा उल्टै धम्क्याएको पीडा पोखेका छन् । निरक्षर र विपन्नहरू फूलकुमारीको सिकार बनेका छन् । जग्गा बन्धकी राख्ने बहानामा फूलकुमारीले तीन प्रतिशत मासिक ब्याज तय गरी जग्गा नै दृष्टिबन्धक गराउने गरेको खुलेको छ । ऋण दिएकोभन्दा तीन गुणा बढीको कपाली तमसुक बनाउने गरेकोसमेत पीडितहरूको गुनासो छ ।
साक्षीकै रोहबरमा साँवा र ब्याज चुक्ता गरिसक्दा पनि ‘लालपुर्जा हरायो’ वा ‘रसिद काटेको छैन’ भन्दै आलटाल गर्ने उनले गत १५ वैशाखमा दिएको चुनौती उद्धृत गर्दै एक पीडितले गुनासो गरे, ‘हामीले किनेको जग्गा हो, फिर्ता गर्दैनौँ । फिर्ता चाहिए साँवाको ब्याज, ब्याजको ब्याज र चक्रवर्तीको ब्याज तिर्नुपर्छ ।’
पढ्दापढ्दैका ‘छोराहरू’ मलेसिया भासिन बाध्य
डंगराहीका दीपनारायण चौधरीले ६ वर्षअघि एक लाख रुपैयाँ ऋण लिँदा चार कट्ठा १२ धुर जग्गा धितोबापत साहुकार फूलकुमारीको नाममा पास गरिदिएका थिए । अलिअलि गर्दै उनले तीन लाख रुपैयाँ (साँवाको तेब्बर) बुझाइसके । तर, जग्गा फिर्ता पाएनन् । घरको यही बिजोग र साहुकारको दबाब सहन नसकी उनका जेठा छोरा पढाइ बिचैमा छाडेर मलेसिया जान बाध्य भएका छन् । हाल आफ्नो जग्गा साहुकारले हडपेकाले चौधरी परिवार अरूको खेत अधियाँ (बटैया) कमाएर छाक टारिरहेको छ । उनीसँग घरमा श्रीमती र कान्छा छोरा छन् ।
‘घरखर्च चलाउन गाह्रो भएपछि पटक–पटक गरी एक लाख रुपैयाँ ऋण लिएको थिएँ । त्यसबापत अलिअलि गर्दै ३ लाख रुपैयाँ बुझाइसकेँ,’ चौधरीले भने, ‘ऋणभन्दा तेब्बर रकम चुक्ता भइसक्दा पनि ६ वर्षअघि धितोका रूपमा पास गरेर लिएको ४ कट्ठा १२ धुर जग्गा साहुकार फूलकुमारीले अझै फिर्ता दिएकी छैनन् । घरको यो अवस्था देखेर ठुलो छोरा पढाइ छोडेर मलेसिया गयो, अहिले म अरूको खेतमा खेती गरेर परिवार पालिरहेको छु । भएभरको जग्गा मिटरब्याजीले कब्जा गरेको छ, कहिले फिर्ता पाइएला ?’
परदेशको कमाइ मिटरब्याजीको खल्तीमा, जग्गा पनि उनकै कब्जामा
डंगराहीका महिनारायण चौधरीले छोरालाई मलेसिया पठाउने खर्च जुटाउन ०७१ मा फूलकुमारीसँग एक लाख ६० हजार रुपैयाँ ऋण लिएका थिए । धितोबापत ६ कट्ठा ६ धुर जग्गा दृष्टिबन्धक गराइदिएका उनले विदेशमा पसिना बगाएर छोराले पठाएको पैसाबाट साँवा र ब्याज गरी ३ लाख २० हजार ३२० रुपैयाँ (दोब्बरभन्दा बढी) बुझाइसके । तर, साहुकारले अझै जग्गा फिर्ता दिएकी छैनन् ।
‘छोराले मलेसियाबाट पसिनाको कमाइ पठाएर साँवाभन्दा दोब्बर रकम तिरिसकियो,’ महिनारायणले दुःखेसो पोखे, ‘छोराले पठाएको पैसाजति साहुलाई बुझाइयो, तैपनि मेरो जग्गा फिर्ता दिएको छैन ।’
न्याय माग्दै प्रहरीमा दिए सामूहिक किटानी जाहेरी
१७ पीडितले न्याय माग्दै प्रहरीमा सामूहिक किटानी जाहेरी दिएका छन् । ४७ वर्षीया फूलकुमारी साह, उनका श्रीमान् ५५ वर्षीय गयाप्रसाद साह र उनका बुबा राजगढ गाउँपालिका– ५ का ७० वर्षीय भागवत साहु तेलीविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय राजविराजमा किटानी जाहेरी दिएका हुन् ।
पीडितहरूले मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (क), २४९ (ख), २५३ र २५४ बमोजिम ठगी, अनुचित लेनदेन (मिटरब्याज) तथा आपराधिक विश्वासघातको कसुरमा कडा कारबाहीको माग गरेका छन् । साथै, बेइमानीपूर्वक हडपिएका जग्गा र कपाली तमसुक अविलम्ब फिर्ता गराइदिन जाहेरीमा माग गरेका छन् । तर, बुधबार जाहेरी दर्ता भने भएको छैन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी हेमराज घिमिरेले किटानी जाहेरी प्राप्त भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताए । ‘१७ जना पीडितले फूलकुमारी साह, गयाप्रसाद साह र भागवत साहु तेलीविरुद्ध सामूहिक रूपमा किटानी जाहेरी दिएका छन्, अनुसन्धान हुँदै छ,’ उनले संक्षिप्त प्रतिक्रिया दिए ।
अधिवक्ता रवीन्द्र यादवले पीडितको जाहेरी परेको र मिडियामा समेत विषय सार्वजनिक भइसकेकाले प्रहरीले तत्काल जाहेरी दर्ता गरी आरोपीलाई पक्राउ गर्नुपर्ने बताए । ‘प्रहरीले मुद्दा दर्ता र पक्राउमा आलटाल गर्यो भने आरोपितहरू भाग्न सक्छन् । त्यसो भयो भने पीडितले न्याय पाउने प्रक्रिया लम्बिने र ठुलो हानी पुग्ने हुन सक्छ,’ उनले भने, ‘यो पक्षमा प्रहरी सचेत बनोस् ।’
साहुकार फूलकुमारी साहको कब्जामा कसको कति जग्गा ?

- सगुनीकुमारी सरदार (फूलबडिया) : ६ कट्ठा ११ धुर फूलकुमारीका नाममा दृष्टिबन्धक
- महिनारायण चौधरी (फूलबडिया) : ६ कट्ठा ६.५ धुर एक लाख कर्जा दिएर फूलकुमारीका नाममा दृष्टिबन्धक
- दीपनारायण चौधरी (फूलबडिया) : ४ कट्ठा १२.५ धुर ५० हजार ऋण दिएर फूलकुमारीका नाममा दृष्टिबन्धक
- पियरियाकुमारी पासमान (बनौली) : ४ कट्ठा ४० हजार कर्जा दिएर १ जेन ०७१ मा फूलकुमारीका नाममा दृष्टिबन्धक
- सरस्वतीदेवी साह (फूलबडिया) : ३ कट्ठा १८ धुर ५ साउन ०६९ मा फूलकुमारीका नाममा दृष्टिबन्धक
- पदुत्रीदेवी वतर्नी (भंगहा) : ३ कट्ठा १० धुर ५० हजार ऋण दिएर १८ असोज ०६६ मा भागवत साह तेलीका नाममा दृष्टिबन्धक
- लखन सरदार (फूलबडिया ) : ३ कट्ठा ५ धुर दुईपटक गरी ७५ हजार कर्जा दिएर १९ माघ ०७५मा फूलकुमारी र भागवत साह तेलीका नाममा दुई ठाउँको जग्गा दृष्टिबन्धक
- बिलट चौधरी (फूलबडिया) : ३ कट्ठा ५ धुर १ लाख ९५ हजार ऋण दिएर २३ वैशाख ०७५ मा दृष्टिबन्धक
- उर्मिलादेवी चौधरीका श्रीमान् हरिलाल चौधरी (फूलबडिया) : २ कट्ठा १२.५ धुर
- कर्जा : २५ हजार कर्जा दिएर २६ माघ ०६९ मा भागवत साह तेलीका नाममा दृष्टिबन्धक
- रोहणीकान्त चौधरीकी आमा नथरीदेवी थरुनी (फूलबडिया) : १ कट्ठा १४.७५ धुर १० हजार ऋण दिएर २ वैशाख २०६४ मा गयाप्रसाद साहका नाममा दृष्टिबन्धक
- ललितादेवी साह ( इनर्वा फूलबडिया) : १ कट्ठा ५.५ धुर २४ साउन ०७१ मा गयाप्रसाद साहका नाममा दृष्टिबन्धक
- दुखीलाल सरदार (ब्रह्मपुर) : १ कट्ठा ३.५ धुर २५ हजार कर्जा दिएर फूलकुमारी साहका दृष्टिबन्धक
- प्रतिलादेवी रसाइली (रामपुर जमुवा) : १ कट्ठा ५० हजार ऋण दिएर ३२ असार ०७१ मा फूलकुमारीका नाममा दृष्टिबन्धक
- धर्मदेव चौधरी (फूलबडिया) : १२.२५ धुर ५० हजार कर्जा दिएर २१ असोज ०७५ मा फूलकुमारीका नाममा दृष्टिबन्धक
- महिनारायण चौधरीकी सासु लगनीदेवी थरुनी (बकधवा) : १०.७५ धुर १ लाख ५० हजार ऋण दिएर २९ कात्तिक ०७४ मा फूलकुमारीका नाममा दृष्टिबन्धक
जनकपुरमा पनि साहुकारको ज्यादती : ६ लाख ऋणको एक करोड ६१ लाख तिर्दा पनि घर लिलाम
धनुषाका मिटरब्याजी साहुकार गोपाल साहले ६ लाख ऋणको एक करोड ६१ लाख तिर्दा पनि ऋणीको घर कब्जा गरेको पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका– ४ की ५० वर्षीया फूलकुमारी रजकले केही वर्षअघि श्रीमान्लाई विदेश पठाउन र छोराको विवाहका लागि साहसँग ६ लाख रुपैयाँ ऋण लिएकी थिइन् । ऋणको ग्यारेन्टीस्वरूप जनकपुरधाम– ४ मा रहेको आठ धुर जग्गामा बनेको आठकोठे घर दृष्टिबन्धकमा राखेकी थिइन् । आफूले पटक–पटक गरी एक करोड ६१ लाख ८१ हजार ९३३ रुपैयाँ बुझाइसक्दा पनि घर फिर्ता नगरेको उनले बताइन् ।
ऋण तिरेको भर्पाइ (साहुको हस्ताक्षर र औँठाछापसहित) आफूसँग सुरक्षित रहेको रजकले बताइन् । यसअघि जिल्ला प्रशासन कार्यालयको अनुचित लेनदेन शाखामा छलफल भएको थियो । छलफलमा साहले सो घर जानकी फाइनान्समा धितो राखी ६० लाख ऋण लिएको र सो चुक्ता गरेर घर फिर्ता दिने आश्वासन दिएका थिए ।
तर, महिनौँ बित्दा पनि घर फिर्ता नगरेपछि रजकले प्रहरीमा ठगी मुद्दा दर्ता गराइन् । उनी पक्राउ पनि परे । सो मुद्दामा जिल्ला अदालत धनुषाले साहु गोपाल साहकै पक्षमा फैसला गरेपछि आफूहरू घरबारविहीन भएको उनले रुँदै बताइन् । ‘५–६ लाखको एक करोड ६१ लाखभन्दा बढी तिरेँ, तर जिन्दगीभरको कमाइ घर फिर्ता पाउन सकिनँ । आर्थिक अभावका कारण उच्च अदालतमा पुनरावेदन गर्न पनि सकिनँ । अब कहाँ जाने ? कसको सहारामा बस्ने ? त्यसैले बाँच्ने रहर छैन,’ उनले आक्रोश व्यक्त गरिन् । आर्थिक अभावका कारण आफूले उच्च अदालतमा पुनरावेदन गर्न नसकेको रजकले बताइन् ।
जनकपुरधामस्थित जिल्ला अदालत धनुषाअगाडि बुधबार दिउँसो एक मिटरब्याजपीडित महिलाले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी छिन् ।
बुधबार धुनषा जिल्ला अदालत परिसरअगाडि मिटरब्याजपीडितले नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेका वेला रजकले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास पनि गरिन् । नजिकै तैनाथ प्रहरीले तत्काल हस्तक्षेप गरी उनलाई रोकेपछि सम्भावित दुर्घटना टरेको छ । आत्मदाह प्रयासपछि केही समय अदालतपरिसर तनावग्रस्त बनेको थियो ।
अदालतबाहिर प्रदर्शन गर्ने अन्य पीडितमा मिथिला नगरपालिका– ६ का कृष्णलाल दास र विदेह नगरपालिका– ८ का पूर्व वरिष्ठ प्रहरी गोविन्द साहलगायत थिए ।
अन्य पीडितको पनि उस्तै छटपटी, साहुकारविरुद्ध अदालतमा मुद्दा
साहु गोपाल साह, उनका दाजु बलराम साह, भाउजू रेखा साह र भतिजा हरेराम साहविरुद्ध रजकबाहेक अन्य नौजना पीडितले ठगी मुद्दा दर्ता गराएका छन् । २४ दिनअघि प्रहरीले गोपाल, रेखा र हरेरामलाई पक्राउ गरेको थियो भने बलराम फरार छन् । बुधबार उनीहरूविरुद्ध अदालतमा थुनछेक बहस भइरहेको थियो ।
साहुविरुद्ध मुद्दा दायर गर्नेमध्येका एक कृष्णलाल दासले आफूहरूले न्याय पाउनुपर्ने बताए । उनले छोरीको विवाहका लागि ०८१ वैशाखमा साढे १२ लाख ऋण लिँदा १३ धुर जग्गा ग्यारेन्टी राखेका थिए । दासले साढे १० लाख रुपैयाँ बुझाइसकेका छन् । बाँकी पैसा बुझाएर जग्गा फिर्ता माग्दा महाजनले सो जग्गा फाइनान्समा राखेर ऋण निकालेको थाहा पाएपछि उनले मुद्दा हालेका हुन् ।
त्यस्तै, दाससँगै बहरू राउत अमात्य पनि अदालत पुगेका छन् । पूर्वशिक्षकसमेत रहेका अमात्यले छोराको उपचारका लागि ०५७ मा दुईपटक गरी एक लाख दुई हजार रुपैयाँ ऋण लिएका थिए । अमात्यको ग्यारेन्टीबापत लगिएको ४६ कठ्ठा १३ धुर जमिन साहुले अन्यत्रै बेचिदिएका छन् । दुई लाखको कपाली तमसुकसमेत बनाएर छलछाम गरिएपछि उनको करिब १० करोड मूल्यबराबरको सम्पत्ति गुमेको छ । न्याय खोज्दाखोज्दै शिक्षण पेसा छुटेको र छोराहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको उनले बताए ।
धनुषाको विदेह नगरपालिका– ८ का गोविन्द साहले कामविशेषका लागि ०८१ मा साहसँग ९९ लाख रुपैयाँ ऋण लिएका थिए । जग्गा दृष्टिबन्धकमा राखी कपाली तमसुक गरेर उक्त ऋण लिएको प्रहरीका पूर्वएसएसपी साहले बताए । दृष्टिबन्धकमा रजिस्ट्रेसन गरिदिएको जग्गा महाजनले आफूहरूलाई जानकारी नै नदिई बैंकमा धितो राखी चार करोड रुपैयाँ ऋण लिएको गोविन्द साहले आरोप लगाए । मिटरब्याजी साह परिवारले विभिन्न कृषि फार्म खोलेर त्यसको नाममा कृषि ऋण लिने र चर्को ब्याजदरमा जग्गा रजिस्ट्रेसन पास गराएर ऋण दिने काम गर्दै आएको उनले आरोप लगाए । साह परिवारले आफूजस्तै दर्जनौँ परिवारलाई ऋण दिएर उठीवास लगाएको उनले आरोप लगाए ।
मिटरब्याजको समस्या समाधान, दोषीमाथि कारबाही र पीडितलाई न्यायको माग गर्दै पीडित लामो समयदेखि आन्दोलनमा छन् । साह परिवारविरुद्धको मिटरब्याजसम्बन्धी मुद्दाको थुनछेक बहस बिहीबार पनि जारी रहनेछ ।