श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नागरिकको सुरक्षा, न्याय, रोजगारी र आधारभूत सेवाको अवस्था कमजोर बन्दै गएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले नागरिकको सुरक्षा राज्यको पहिलो प्राथमिकता हुनुपर्ने बताए। पछिल्ला घटनाक्रमले सर्वसाधारणसँगै जनप्रतिनिधिसमेत असुरक्षित रहेको देखाएको उनको भनाइ छ।
देशका विभिन्न स्थानमा आगजनी, तोडफोड, धम्की तथा धार्मिक विवादका घटना बढ्नुमा राज्य संयन्त्र कमजोर हुनु प्रमुख कारण रहेको साम्पाङले दाबी गरे। तराई–मधेश क्षेत्रमा समेत नागरिकले असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै उनले सरकारले त्यहाँको वास्तविक अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।
उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई संवैधानिक तथा पदीय दायित्वअनुसार संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन आग्रह गरे। प्रधानमन्त्रीको उपस्थितिका लागि लामो समयदेखि माग हुँदै आए पनि त्यसलाई बेवास्ता गरिएको उनको आरोप थियो।
न्याय प्रणालीप्रति नागरिकस्तरबाट प्रश्न उठिरहेको भन्दै साम्पाङले आन्दोलनमा सहभागी तथा असन्तुष्ट नागरिकसँग सरकारले प्रत्यक्ष संवाद गर्नुपर्ने बताए। नागरिकका समस्या र गुनासा बुझ्न सरकारी नेतृत्व स्वयं जनताबिच पुग्न आवश्यक रहेको उनको भनाइ छ।