छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले आफ्नो पाँचवर्षे कार्यकालमा पाएको सेवा–सुविधा आफूले व्यक्तिगत कार्यमा खर्च नगरी जनताको सेवामा लगानी गर्ने घोषणा गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफूले पाउने पारिश्रमिकको पूरै रकम र सेवासुविधा, विभिन्न बैठक, कार्यक्रम, तालिम र गोष्ठीबाट प्राप्त हुने भत्तासमेत सबै शिक्षा, स्वास्थ्य, विपन्न तथा दलित समुदाय, विपत् प्रभावित नागरिक र सार्वजनिक पूर्वाधारका क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको विवरणअनुसार पाँच वर्षमा प्राप्त हुने पारिश्रमिक र अन्य सेवा–सुविधासहित कुल २८ लाख १४ हजार रुपैयाँ प्राप्त हुने देखिन्छ ।
निर्वाचनका वेला नगरवासीसमक्ष आफ्नो सेवा–सुविधाबाट एम्बुलेन्स खरिद गर्ने प्रतिबद्धता गरेको स्मरण गर्दै उनले छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका, मुगुम कार्मारोङ गाउँपालिका, छायानाथ सहकारी, जिल्ला अस्पताल तथा रेडक्रसका गरी आठवटा एम्बुलेन्स सञ्चालनमा रहेको बताए । तर, सडक यातायातको सीमितता र भौगोलिक कठिनाइका कारण एम्बुलेन्ससमेत पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको अवस्था रहेकाले नयाँ एम्बुलेन्स खरिद गर्नुभन्दा उपलब्ध स्रोतलाई तत्काल प्रतिफल दिने क्षेत्रमा परिचालन गर्नु उपयुक्त हुने निष्कर्षमा पुगेको उनले बताए ।
नगरप्रमुख भामको योजनामा सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता शिक्षा सुधारलाई दिइएको छ । आर्थिक अभावका कारण जेहेनदार विद्यार्थीले आवश्यक शैक्षिक सामग्री प्राप्त गर्न नसक्ने अवस्थालाई ध्यानमा राख्दै शैक्षिक सामग्री वितरण कार्यक्रमका लागि आठ लाख ५४ हजार रुपैयाँ छुट्याइएको छ । यो कार्यक्रम छायानाथ रारा नगरपालिका, मुगुम कार्मारोङ गाउँपालिका, सोरु र खत्याड गाउँपालिकाका विद्यालयमा आवश्यकताका आधारमा खर्च गरिनेछ ।
यसैबिच दलित तथा विपन्न वर्गका बालबालिकालाई लक्षित गरी चार लाख ६० हजार रुपैयाँबराबरको न्यानो कपडा वितरणमा रकम छुट्याइएको छ । त्यस्तै विपत् प्रभावित नागरिकलाई राहत तथा सहयोगका लागि चार लाख रुपैयाँ, सार्वजनिक स्थलमा पाटी, पौवा, खानेपानी तथा धारा निर्माण र मर्मतका लागि चार लाख रुपैयाँ, प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका बालबालिकाका लागि खेलौना तथा सामग्री सहयोगमा दुई लाख रुपैयाँ, सरसफाइ सामग्री वितरणमा दुई लाख रुपैयाँ र बिरामी भेटघाट कार्यक्रममा फलफूल तथा अन्य सहयोगका लागि तीन लाख रुपैयाँ खर्च गरिने कार्ययोजना रहेको छ ।
नगरप्रमुख भामले आगामी ०८४ को जेठ २० गतेदेखि यी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । राजनीति व्यवसाय नभई सेवा भएको बताउँदै उनले भने, ‘हाम्रो लक्ष्य पद होइन, परिणाम हो। हाम्रो प्राथमिकता सुविधा होइन, सेवा हो। हाम्रो राजनीति व्यक्तिगत स्वार्थ होइन, जनताको हित हो, भाषण होइन, काम हो ।’
भाम ०७४ मा छायानाथ रारा नगरपालिका– ४ बाट वडअध्यक्ष निर्वाचित भएका थिए । उनले उक्त पाँचवर्षे कार्यकालमा प्राप्त भएको १३ लाखबराबरको रकम पनि आफूले खर्च नगरी जनस्तरमै खर्च गरेका थिए ।