सुर्खेतको चौकुने गाउँपालिकाका घरधुरीमध्ये झन्डै ९० प्रतिशत अव्यवस्थित भूमिहीन सुकुमवासी छन् । राष्ट्रिय जनगणना, २०७८ अनुसार सुर्खेत गाउँपालिकाको कुल घरधुरी संख्या पाँच हजार ३३६ छ । तीमध्ये चार हजार ७२१ घरधुरी अव्यवस्थित भूमिहीन सुकुमवासी छन् ।
गाउँपालिकाले भूमिहीन दलित र भूमिहीन, अव्यवस्थित बसोबासीको पहिचान र व्यवस्थापन गर्ने उद्देश्यले गरेको लगत संकलनमा पाँच हजार १४ फाइल पेस भएका थिए । तीमध्ये चार हजार ७२१ घरधुरी भूमिहीन दलित र भूमिहीन, अव्यवस्थित बसोबासी रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका १० वटामा भूमिहीन दलित र भूमिहीन, अव्यवस्थित बसोबासीको लगत संकलन गरिएको तीमध्ये २२१ भूमिहीन दलित, ७३९ भूमिहीन सुकुमवासी र तीन हजार ७६१ जना अव्यवस्थित बसोबासी रहेको गाउँपालिकाका नापी शाखाका प्रमुख तथा अमिन भूपेन्द्र ओलीले बताए । उनले गाउँपालिकाले दुई वर्ष लगाएर लगत संकलन गरेको बताए ।
गाउँपालिकामा ६१४ जना भूमिहीन दलित र भूमिहीन, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिएको र अहिले ९९१ वटा फाइल सबै तयारी पूरा अवस्थामा रहेको लालपुर्जा वितरण गर्न मात्र बाँकी रहेको ओलीले बताए । ‘भूमिहीन आयोग, भूमि संशोधन आयोग, राष्ट्रिय भूमिहीन आयोगलगायतका सबै आयोग गठन भए । हामीले सुरुको आयोग बन्नेबित्तिकै एकजना सर्वेक्षक, दुईजना अमिन र चार–पाँचजना लगत प्रविष्ट गर्ने कर्मचारी राखेर काम गरेका हौँ,’ उनले भने ।