महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सरकारले सञ्चालन गर्न लागेको ‘ब्लु बस’ सेवा महिला र पुरुषबिच विभाजन सिर्जना गर्ने वा प्रचारमुखी कार्यक्रम नभई सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका सुरक्षा जोखिमलाई तत्काल सम्बोधन गर्ने उद्देश्यसहित अघि सारिएको आवश्यक पहल भएको बताएकी छिन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री बादीले सार्वजनिक यातायातमा महिलाविरुद्ध हुने यौनजन्य दुर्व्यवहार, असुरक्षा, अत्यधिक भिडभाड तथा अन्य व्यावहारिक कठिनाइलाई मध्यनजर गर्दै ‘ब्लु बस’ सेवा सञ्चालन गर्न लागिएको जानकारी दिइन्।
उनले यो सेवाले विद्यमान सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन नगर्ने र महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्न कुनै प्रकारको प्रतिबन्ध नलगाइने स्पष्ट पारिन्।
मन्त्री बादीले समानताको अर्थ सबै नागरिकलाई एउटै व्यवहार गर्नु मात्र नभई विशेष जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार विशेष संरक्षण, सुविधा र अवसर उपलब्ध गराउनु पनि भएको उल्लेख गर्दै यही संवैधानिक तथा नीतिगत मान्यताअनुरूप ‘ब्लु बस’ सेवा अघि बढाइएको बताइन्।
उनका अनुसार सरकारको दीर्घकालीन लक्ष्य महिला र पुरुषलाई अलग–अलग यात्रा गराउनु नभई सबै नागरिकले एउटै सार्वजनिक यातायातमा सुरक्षित, सम्मानजनक र सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु हो। त्यसैले महिलाको तत्काल सुरक्षा सुनिश्चित गर्ने लक्षित सेवा र सार्वजनिक यातायात प्रणालीको दीर्घकालीन सुधारलाई समानान्तर रूपमा अघि बढाइने उनको भनाइ छ।
मन्त्री बादीले विशेषगरी गर्भवती महिला, साना बालबालिकासहित यात्रा गर्ने आमा, ज्येष्ठ महिला, अशक्त तथा अपांगता भएका महिलाले भिडभाडयुक्त सार्वजनिक यातायातमा थप कठिनाइ भोग्ने भएकाले उनीहरूको सुरक्षित आवागमन तथा शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न ‘ब्लु बस’ सेवा आवश्यक रहेको तर्क गरिन्।