रौतहटको चन्द्रपुर नगरपालिकामा गाईमा लाग्ने गाँठे छाला रोग (लम्की स्किन रोग) फैलिन थालेपछि गाईपालक किसान चिन्तित बनेका छन्। नगरपालिकाका अधिकांश वडामा पालिएका गाई तथा बाछाबाछीमा रोगको संक्रमण देखिन थालेको छ। पशु प्राविधिकका अनुसार विशेष गरी बाछाबाछीमा संक्रमणको दर बढी देखिएको छ।
चन्द्रपुर नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक रोशन लामाले पछिल्ला केही सातायता नगरका विभिन्न वडाबाट गाईमा गाँठे छाला रोग देखिएको सूचना निरन्तर प्राप्त भइरहेको बताए। विशेषगरी बाछाबाछीमा संक्रमण तीव्र देखिएकाले समयमै नियन्त्रण गर्न नसके रोगको फैलावट अझ बढ्न सक्ने उनले बताए।
चन्द्रपुर– ४ का किसान रामचन्द्र दाहालका अनुसार उनको गाईको बाछीमा एक सातादेखि रोगका लक्षण देखिएका छन्। सुरुमा सामान्य ज्वरो देखिएपछि शरीरभरि गाँठागुँठी र फोका देखिन थालेको उनले जानकारी दिए। नगरपालिकामा जानकारी गराउँदा आवश्यक खोप र औषधि उपलब्ध नभएकाले बजारबाट महँगो मूल्यमा औषधि खरिद गर्नुपरेको उनको भनाइ छ। समयमै प्रभावकारी उपचार र खोपको व्यवस्था नभए किसानले ठुलो आर्थिक क्षति व्यहोर्नुपर्ने उनले बताए।
चन्द्रपुर– ८ का किसान हरि तिमल्सिनाले रोग लागेका गाईको शरीरभरि गाँठागुँठी र फोका आउने, ती फुटेर घाउ बन्ने, त्यसपछि उच्च ज्वरो आउने, दाना खान छाड्ने र दुध उत्पादन घट्ने समस्या देखिएको बताए। उनका अनुसार रोगका कारण गाई दिनप्रतिदिन कमजोर बन्दै गएका छन्। नगरपालिकाको पशु सेवा शाखामा जानकारी गराउँदा पनि आवश्यक खोप र औषधि उपलब्ध नभएको भन्दै आफूहरू बजारबाट महँगो मूल्यमा औषधि किन्न बाध्य भएको उनले बताए।
पशु प्राविधिकका अनुसार गाँठे छाला रोग विषाणुबाट लाग्ने सरुवा रोग हो। लामखुट्टे, झिँगा, किर्नालगायत रगत चुस्ने किरामार्फत यो रोग एक गाईबाट अर्को गाईमा सर्ने गर्छ। संक्रमण भएपछि गाईमा उच्च ज्वरो आउने, शरीरभरि गाँठागुँठी र घाउ देखिने, दुध उत्पादन घट्ने, तौल कम हुने तथा प्रजनन क्षमतामा समेत असर पर्ने हुन्छ। गम्भीर अवस्थामा पशुको मृत्युसमेत हुन सक्ने भएकाले यसले पशुपालन क्षेत्रमा ठुलो आर्थिक क्षति पुर्याउने जोखिम रहने प्राविधिकहरू बताउँछन्।
सन्तपुरका किसान विकास दाहालले रोग नियन्त्रणका लागि तत्काल प्रभावित क्षेत्रमा अभियान सञ्चालन गरी निःशुल्क खोप, औषधि र प्राविधिक सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरे। पशुपालन अधिकांश किसानको मुख्य आय–आर्जनको आधार भएकाले रोग नियन्त्रणमा ढिलाइ भए जीविकोपार्जनमै असर पर्ने उनको भनाइ छ।
यता चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीले पशुमा देखिएको गाँठे छाला रोगबारे आवश्यक तथ्य संकलन भइरहेको बताइन्। कार्यपालिका बैठकबाट आवश्यक निर्णय गरी खोप उपलब्ध गराउने र रोग नियन्त्रणका लागि आवश्यक पहल गरिने उनले जानकारी दिइन्।