जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका– १, नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, नगद तथा अन्य सामग्रीसहित चारजनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार साउन १८ गते दिउँसो करिब ३ बजे नागपोखरीस्थित प्रभात तिवारीको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले घर तथा बा.७च ५१८० नम्बरको सवारीसाधनमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा ३२९.०५ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, २२१ क्याप्सुल ट्रामाडोल, १०० ट्याब्लेट नाइट्राजेपाम, नगद रु. १ लाख ९८ हजार ३२५, तीन थान ल्यापटप, एक थान डिजिटल तराजु, एक थान सञ्चार सेट, एक थान एलुमिनियम पेपर रोल तथा चार थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका– १, नागपोखरीका ४३ वर्षीय प्रभात तिवारी, ललितपुर महानगरपालिका– ४ का ५१ वर्षीय सलिन श्रेष्ठ, काठमाडौं महानगरपालिका– १४ बल्खुका ५१ वर्षीय भूपेन्द्र श्रेष्ठ तथा सर्लाही बरहथवा नगरपालिका– ६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका– १२ बस्दै आएका ४० वर्षीय सुजन रायमाझी रहेका छन्।
पक्राउ परेका चारैजनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।