कर्णाली प्रदेश सरकारले सल्यान र सुर्खेतका खडेरी प्रभावित क्षेत्रमा धान रोपाइँ प्रभावित भएको अवस्थाबारे स्थलगत अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ।
सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको १ देखि ७ तथा सुर्खेतको सिम्ता गाउँपालिकाको १, ३, ४, ५, ६ र ७ नम्बर वडामा लामो समयदेखि पर्याप्त वर्षा नहुँदा हालसम्म धान रोपाइँ हुन नसकेको विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल गठन गरिएको हो।
कर्णाली प्रदेश सभाको साउन १५ गते बसेको बैठकको शून्य समयमा प्रदेश सभा सदस्य भीमप्रकाश शर्माले सल्यान र सुर्खेतका उक्त क्षेत्रमा खडेरीका कारण किसानले धान रोप्न नपाएको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए। त्यसपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सचिवस्तरीय निर्णयबाट अध्ययन कार्यदल गठन गरेको जनाएको छ।
कार्यदलको संयोजकको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायलाई दिइएको छ। कार्यदलमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका इन्जिनियर प्रतिनिधि, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय सुर्खेतका इन्जिनियर प्रतिनिधि, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानका इन्जिनियर प्रतिनिधि र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका बागवानी विकास अधिकृत विशाल खत्री सदस्य रहेका छन्।
मन्त्रालयका अनुसार कार्यदलले प्रभावित क्षेत्रमा पुगेर स्थानीय तह, किसान, सरोकारवाला निकाय तथा सम्बन्धित कार्यालयसँग समन्वय र छलफल गर्नेछ। साथै खडेरीका कारण धान रोपाइँ प्रभावित हुनुका कारण, त्यसले कृषिमा पारेको असर तथा समस्या समाधानका सम्भावित उपायसहितको प्रतिवेदन मन्त्रालयमा पेस गर्ने जिम्मेवारी दिइएको छ।