- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गत ११ असारमा अखिल नेपाल फुटबल महासंघ (एन्फा)लाई अनिश्चितकालीन निलम्बन गरेपछि नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिता बन्यो ठप्प
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पुरुष साफ च्याम्पियनसिप खेल्ने टिम र समूह सार्वजनिक गरेको छ । शनिबार साफले सहभागी टिम सार्वजनिक गर्दा नेपाललाई भने समावेश गरेको छैन । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गत ११ असारमा अखिल नेपाल फुटबल महासंघ (एन्फा)लाई अनिश्चितकालीन निलम्बन गरेको थियो । पंकजविक्रम नेम्वाङ नेतृत्वको चारवर्षे कार्यकालमा लगातार संघभित्रको विवाद र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को हस्तक्षेपपछि फिफाले पहिलोपटक एन्फामाथि निलम्बन लगाएको हो । निलम्बनपछि नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिता ठप्प बनेका छन् । यस्तै, घरेलु प्रतियोगितासमेत भएका छैनन् ।
सोहीकारण, एन्फालाई साफले आगामी च्याम्पियनसिपको कुनै पनि समूहमा राखेको छैन । प्रतियोगिता बंगलादेशमा नोभेम्बर ४ देखि १७ सम्म हुनेछ । यदि निर्धारित मितिसम्म फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गरे नेपालले स्थान पाउने साफले जनाएको छ ।
नेपाल समूह ‘ए’मा रहने
साफका अनुसार यदि निलम्बन फुकुवा भए नेपाल आयोजक बंगलादेश रहेको समूह ‘ए’मा रहनेछ । समूह ‘ए’मा बंगलादेश, श्रीलंका र भुटान छन् । समूह ‘बी’मा साबिक विजेता भारत, माल्दिभ्स र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपालले लगातार साफ च्याम्पियनसिप खेलेपछि च्याम्पियन भने हुन सकेको छैन । मात्र एकपटक उपविजेता बनेको थियो ।
साफ कंग्रेसमा राई सहभागी
साफले भुटानको राजधानी थिम्पुमा आयोजना गरेको चुनावी साधारणसभामा एन्फा महासचिव किरण राई सहभागी भएका छन् । साफले सार्वजनिक गरेको तस्बिरमा राई देखिन्छन् । पछिल्लो समय राईलाई अध्यागमन विभागले कालोसूचीमा राखेर अमेरिका भ्रमण गर्न रोकेको थियो । अध्यक्ष नेम्वाङ र महासचिव राई फिफा विश्वकप २०२६ हेर्न जान विमानस्थल पुगे पनि फर्काइएको थियो ।
त्यसपछि दुवैजना अदालत पुगेका थिए । अदालतले विदेश भ्रमण नरोक्न आदेश जारी गरेपछि राई एन्फाको प्रतिनिधित्व गर्दै भुटान पुगेका हुन् । यता, अदालतकै आदेशपछि चारवर्षे कार्यकाल सम्पन्न गरेका अध्यक्ष नेम्वाङ विश्वकपको फाइनल हेर्न परिवारसहित न्युयोर्क पुगेका थिए । निकै विवादास्पद बनेका नेम्वाङको चार वर्ष कार्यकालमा गत ५ असारमै सम्पन्न भएको थियो । यसबिच साफका उपाध्यक्ष सुन्दर नरसिंह जोशी पनि थिम्पुमा भएको कंग्रेसमा सहभागी भएका हुन् ।
सलाहुद्दिन पुनः चार वर्षका लागि निर्वाचित
साफको कंग्रेसबाट मोहम्मद सलाहुद्दिन अर्को चार वर्षका लागि पुनः अध्यक्षमा निर्वाचित भएका छन् । थिम्पुमा भएको साधारणसभामा बंगलादेश फुटबल संघका पूर्वअध्यक्षसमेत रहेका उनी सर्वसम्मत भएका हुन् । साफका अनुसार कंग्रेसमा सातै राष्ट्र, फिफा र एसियाली फुटबल महासंघ (एएफसी)का प्रतिनिधिको सहभागी थियो । यस्तै, उपाध्यक्षमा श्रीलंका फुटबल महासंघका अध्यक्ष जसवार उमरु, भुटान फुटबल संघकी जिम्बिरी महिला कार्यकारी सदस्य, माल्दिभ्स फुटबल एसोसिएसनका उपाध्यक्ष हुसैन सफिउ पनि कार्यकारी सदस्य सर्वसम्मत भएका छन् । यता, भारतका साजी प्रभाकर साफको प्रतिनिधित्व गर्दै बाँकी अवधिका लागि एएफसीको सदस्य रहनेछन् ।
यसबिच कंग्रेसले विभिन्न एजेन्डा पारित गरेको छ । पछिल्लो कंग्रेसको कार्यक्रम, महासचिव पुरुषोत्तम कट्टेलले वार्षिक कार्यक्रम, वित्तीय वर्ष २०२५ र लेखापरीक्षक कार्यक्रम पारित गरेको छ । त्यस्तै, स्वतन्त्र बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । यता साफले आगामी चार वर्षका लागि महिला फुटबल प्रतियोगिता गर्ने, युवा खेलाडी विकास, चुस्त प्रशासन बनाउने, सबै राष्ट्रका खेलाडी, प्रशिक्षक, रेफ्रीलाई धेरैभन्दा धेरै अवसर प्रदान गर्न कार्यक्रम ल्याउने रणनीति तयार पारेको बताएको छ ।