- गत वर्ष जेन–जी आन्दोलन, चुनावी संशय, सरकारले सम्पत्ति शुद्धीकरणविरुद्ध चालेको कदमलगायतका कारण सेयर बजार बन्यो अस्थिर
गत आर्थिक वर्ष ०८२/८३ मा सेयर कारोबारबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर ३७.४२ प्रतिशतले घटेको छ । अघिल्लो आव ०८१/८२ मा १६ अर्ब ५४ करोड ३७ लाख एक हजार पुँजीगत लाभकर उठेको थियो । गत आवमा भने १० अर्ब ३५ करोड १६ लाख नौ हजारमा सीमित भएको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले जनाएको छ ।
गत आवमा सेयर बजार घट्दो क्रममा रहँदा सरकारले प्राप्त गर्ने आम्दानीमा असर परेको हो । जेन–जी आन्दोलन, चुनावी संशय, सरकारले सम्पत्ति शुद्धीकरणविरुद्ध चालेको कदमलगायतका कारण सेयर बजार अस्थिर बनेको छ । ०८२ असार मसान्तमा नेप्से परिसूचक २७९४.७८ विन्दुमा थियो । गत असार मसान्तमा घटेर २५९७.८ विन्दुमा सीमित भयो ।
गत आवको १३ साउनमा नेप्से ३००२ विन्दुको उच्च विन्दुमा पुगेको थियो । तर, ३० असोजमा २४८७.१७ विन्दुमा झरेको थियो । गत आवमा सेयर बजारमा उतारचढाव हुँदा लगानीकर्ताले धेरै नाफा कमाउन सकेनन् । जसकारण सरकारले प्राप्त गर्ने पुँजीगत लाभकर प्रभावित भएको हो । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले सेयर कारोबारमा भएको नाफामा गिरावट आएपछि पुँजीगत लाभकरसमेत प्रभावित भएको बताए ।
चालू आवदेखि नयाँ दर
पुँजीगत लाभकरमा चालू आवदेखि भने नयाँ दर लागू भएको छ । अब दीर्घकालीन कारोबारमा हुने नाफामा ७.५ प्रतिशत र अल्पकालीन कारोबारमा १० प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ । गत आवसम्म सेयर कारोबारमा हुने खुद नाफामा दीर्घकालीनतर्फ पाँच प्रतिशत र अल्पकालीनतर्फ ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था थियो । गत १५ जेठमा ल्याइएको बजेटमार्फत पुँजीगत लाभकर दर बढाइएको हो । यद्यपि, त्यो नै अन्तिम हुने व्यवस्था गरिएको छ । अर्थात्, त्यसमा आयकर ऐनअुनसार थप कर तिर्नुपर्नेछैन ।