निर्मल पुर्जाको योगदान सम्झिँदै गगन थापाले भने - ‘नेपालीहरू आरोहणका लागि सहयोगी मात्र होइनन्, नेतृत्वकर्ता हुन्’

शनिबार, १६ साउन, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगन थापाले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को निधनको खबरले आफू स्तब्ध र मर्माहत भएको बताएका छन्।

पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी पुर्जाको निधन भएको पुष्टि भएपछि थापाले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

थापाले पुर्जा कठिन आरोहणपछि यसपटक पनि सुरक्षित फर्किने विश्वास आफूलाई रहेको भए पनि त्यो पूरा हुन नसकेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, 'मलाई साँच्चै विश्वास थियो कि तपाईंले सधैँझैँ यसपटक पनि पछाडि फर्कने कुनै न कुनै बाटो फेला पार्नुहुनेछ।' उनले निर्मल पुर्जाको सबैभन्दा ठुलो योगदान विश्व कीर्तिमान मात्र नभई नेपाली पर्वतारोहीप्रतिको विश्व दृष्टिकोण परिवर्तन गर्नु रहेको बताएका छन्।

थापाका अनुसार पुर्जाले नेपालीहरू पर्वतारोहणमा सहयोगी मात्र नभई नेतृत्वकर्ता, प्रणेता र नवप्रवर्तक पनि हुन सक्छन् भन्ने प्रमाणित गरेका छन्। उनले पुर्जाको योगदान र विरासतले आगामी पुस्ताका पर्वतारोहीलाई निरन्तर प्रेरणा दिइरहने बताए।

सभापति थापाले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका अन्य नेपाली तथा विदेशी पर्वतारोहीहरूप्रति समेत समवेदना व्यक्त गरेका छन्। उनले पुरबहादुर ‘युक्ता’ गुरुङ, किली पेम्बा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा, सोहेल साखी, मेलोरी गाइस, नाधिरा अल हार्थी र वाङ जोडङलाई स्मरण गरेका छन्।

उनले प्रत्येक पर्वतारोहीको जीवनसँग साहस, त्याग र सपना जोडिएको भन्दै उनीहरूका परिवारप्रति समेत सहानुभूति व्यक्त गरेका छन्। पाकिस्तानको कराकोरम हिमशृंखलामा रहेको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गएको हिमपहिरोमा परी बिहीबार निर्मल पुर्जासहित १० जना पर्वतारोही बेपत्ता भएका थिए। बेपत्ता भएकामध्ये ६ जना नेपाली रहेका थिए। शुक्रबार चारजनाको शव फेला परेको थियो।

पुर्जाले आरोहण टोलीको नेतृत्व गरेका थिए। उनले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।

सुझावित समाचार