लघुवित्त संस्थाको ७२ लाख हिनामिना गर्ने पाँच कर्मचारी प्रहरीको नियन्त्रणमा

शुक्रबार, १५ साउन, २०८३
डिजिटल संस्करण

किर्ते कागजात तयार गरेर खाँडादेवी गाउँपालिका– ७, गाल्वास्थित सामुदायिक लघुवित्त वित्तीय संस्थामा रहेको ७२ लाखभन्दा बढी रकम हिनामिना गर्ने सो संस्थाका कार्यरत शाखा प्रमुखसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीले सामुदायिक लघुवित्त वित्तीय संस्थाका तत्कालीन शाखा प्रमुख रमेशजंग शाह, कनिष्ठ सहायक सरोज राई तथा बचतकर्ता सदस्य सुनिता घिसिङसहित चारजनालाई आफ्नो नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए । 

उनका अनुसार लघुवित्त संस्थामा राखेको पैसा सोही संस्थामा कार्यरत कर्मचारीहरूले ठगी गरेको भन्दै स्थानीय बेलमाया मगरले ०८० असोज ८ गते बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गराएकी थिइन् । मुद्दा दर्तापछि प्रहरीले आरोपितहरूमध्ये एकजनालाई खोटाङ जिल्लाबाट र अन्यलाई काठमाडाैंबाट पक्राउ गरी जिल्लामा झिकाएर सम्बन्धित कार्यालयबाट म्याद थप गरी प्रहरी हिरासतमा राखी आवश्यक थप अनुसन्धान भइरहेको सूचना अधिकारी राउतले बताए । 

संस्थाका कार्यरत कर्मचारीहरू मिलेर ०७५ सालमा संस्थाको कर्जा कार्यविधिविपरीत खाँडादेवी गाउँपालिकाका लमिन लामालगायत ४१ जना ऋणी देखाएर किर्ते कागजात तयार गरी नक्कली ऋण कारोबार देखाएर पैसा हिनामिना गरेका थिए । उनीहरूले गैरकानुनी रूपमा संस्थाबाट ७२ लाख ३७ हजार ३३५ रुपैयाँ कर्जा प्रवाह गरेको देखाएर संस्थालाई आर्थिक हानि–नोक्सानी पुर्याएका छन् । रामेछापमा वित्तीय संस्था ठगीसम्बन्धी यो पहिलो मुद्दा भएको  प्रहरीले जनाएको छ ।

सुझावित समाचार