विराटनगर विमानस्थलबाट १८.४८ ग्राम ब्राउनसुगरसहित एक युवक पक्राउ

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

विराटनगर विमानस्थलबाट काठमाडौं पठाउन लागिएको कार्गो सामानबाट लागुऔषध ब्राउनसुगर बरामद भएपछि प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार साउन १३ गते साँझ करिब ७ बजे विराटनगर महानगरपालिका– ९ स्थित महेन्द्रचोकमा रहेको एक्स्पो एक्सप्रेस कुरियरमार्फत काठमाडौं पठाउन लागिएको स्पोर्टस् जुत्ताको कार्गो सामान विमानस्थलको एक्स–रे मेसिनबाट जाँच गर्ने क्रममा शंकास्पद वस्तु फेला परेको थियो।

प्रहरीले जुत्ताको सोलभित्र कालो प्लास्टिकमा पोको पारेर लुकाइराखिएको ब्राउनसुगरजस्तो देखिने १८.४८ ग्राम खैरो पदार्थ बरामद गरेको जनाएको छ। उक्त सामान कुरियर गर्न आएका विराटनगर महानगरपालिका– ५ निवासी २४ वर्षीय सुशान्त खड्कालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मोरङमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लागुऔषधको प्रकृति तथा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान जारी रहेको छ।

सुझावित समाचार