आइसिसी विश्वकप लिग–२ : नामिबियासँग नेपाल तीन रनले पराजित

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

नेपालले नेदरल्यान्ड्समा चलिरहेको आइसिसी विश्वकप लिग दुई क्रिकेट प्रतियोगितामा लगातार तेस्रो हारको सामना गरेको छ । उट्रचट मैदानमा नामिबियाले पहिलो ब्याटिङ गरी ५० ओभरमा सात विकेट गुमाएर दुई सय ११ रनको सम्मानजक योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपालले सहज लक्ष्य पछ्याउँदा ५० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाउँदा नामिबियाले तीन विकेटले जित निकाल्यो । खेलमा म्यान अफ दी म्याच नामिबियाका जान फयाकिन भए । उनले नेपालविरुद्ध शतकीय इनिङ्स खेलेका थिए ।

यसअघि सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग आठ विकेट तथा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटको हार व्यहोरेको थियो । यी दुवै खेलमा नेपाल १५७ रनमा अलआउट भएको थियो । तेस्रो खेलमा नेपालले नामिबियासँग सुदृढ ब्याटिङ गरे पनि जित निकाल्न सकेन । नेपालले लगातार विदेशी भूमिमा हारको सामना गरेको छ । विश्वकप लिग दुईअन्तर्गत विदेशी भूमिमा नेपालले गत वर्ष नेदरल्यान्ड्सलाई हराएको थियो । दुई महिनाअघि नेपालमा भएको सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । यसमा आठ खेलमा नेपालले १२ अंक बटुलेर तालिकामा ब्यापक सुधार गरेको थियो । यसपटक नेदरल्यान्ड्सको भूमिमा नेपालले अंक जोड्न सकेको छैन ।

नेपालमा छैटौँ स्थानमा झर्‍यो
लगातारको खराब प्रदर्शनपछि नेपालले एक स्थान गुमाएको छ । नेपालमाथिको जितले नामिबियाले एक स्थान सुधार गरी पाँचौँ स्थान रक्षा गरेको छ । नामिबियाले ३१ खेलमा १२ जितका साथ २६ अंक बटुलेको छ । नेपालले समान खेलबाट ११ जित र १८ हार सामना गरी २४ अंक मात्र जोडेको छ । अब नेपालले नेदरल्यान्ड्सविरुद्ध खेल्न बाँकी छ । शीर्ष स्थानमा अमेरिकाले ३२ खेलबाट सर्वाधिक ४३ अंक बटुलेको छ । अमेरिका एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ । दोस्रो स्थानको स्कटल्यान्डले ३८ तथा तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले ३० खेलबाट ३६ अंक जोडेको छ । नेपाल र क्यानडाले समान २४ अंक जोडेका छन् । तर, नेपालको तुलनामा क्यानडाले तीन खेल कम खेलेको छ । आगामी सिरिजमा क्यानडाले जित निकाल्दा नेपालको छैटौँ स्थानमा पनि सुरक्षित हुनेछैन ।

फेरि कमजोर ब्याटिङ
दुई सय १२ रन लक्ष्य पछ्याएको नेपालका लागि मध्यक्रम ब्याटिङ चल्न सकेन । ओपनर कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि १३.२ ओभरमा ५१ रनको साझेदारी गरेका थिए । कुशलले ४७ बलमा तीन चौका र एक छक्का प्रहार गरी ३४ रन जोडे । आसिफले ८९ बलमा ४५ रन जोड्न चार चौका प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ५० बलमा ४१ रन बनाए । आरिफ सेख र गुल्सन झाले नेपाललाई जितका आशा दिलाएका थिए । तर, उनीहरूले उत्कृष्ट स्ट्रोक लगाउन सकेनन् । आरिफले ४९ बलमा तीन चौकाको सहयोगमा ३८ रन जोडे । गुल्सनले १० बलमा १९ रन बनाए । नेपाललाई अन्तिम ओभरमा जितका लागि १७ रन आवश्यक थियो । तर, नेपालले केवल १३ रन मात्र बनायो ।

जानको शतकीय इनिङ्स
नेपालविरुद्ध पहिलो ब्याटिङ गरेको नामिबियाका लागि जान फ्रेलिंकले शतकीय इनिङ्स खेलेका थिए । उनले १४९ बल सामना गरी तीन चौकाको सहयोगमा सय रन बनाएका हुन् । शतक बनाएलगत्तै जानलाई रोहितकुमार पौडेलले रनआउट गरे । नामिबियाको इनिङ्समा लौरेन स्टिनकाम्पले ५९ रनको योगदान गरे । उनले ८७ बलमा चार चौका र एक छक्का प्रहार गरे । मालान क्रुगरले १५ रन बनाउनबाहेक अन्य खेलाडीले ठुलो स्कोर बनाउन सकेनन् । ११.१ ओभरमा दुई विकेट गुमाएर ३७ रन बनाएको नामिबियालाई लौरेन जानले ठुलो स्कोरतर्फ लगेका थिए । लौरन र जानबिच शतकीय साझेदारी भयो । उनीहरूले १८२ बलमा १३१ रनको ठुलो साझेदारी गरे ।

एकदिवसीयमा करणको सय विकेट पूरा
नेपालका तीव्र गतिका बलर करण केसी नेपालका लागि एकदिवसीय क्रिकेटमा सय विकेट पूरा गरेका छन् । करणले नामिबियाविरुद्ध पाँच विकेट लिँदै एकदिवसीय खेलमा सय विकेट पूरा गरेका हुन् । नेपालका लागि एकदिवसीय खेलमा सय विकेट लिने उनी दोस्रो बलर हुन् । यसअघि सन्दीप लामिछानेले पहिलो खेलाडीका रूपमा सय विकेट लिएका थिए । पहिलो ब्याटिङ गरेको नामिबियाको इनिङ्सको ४१.३ ओभर ३ मा लाउरेन कमयाम्पलाई कुशल भुर्तेलद्वारा क्याचआउट गराउँदै करणले सय विकेटको कोसेढुंगा पार गरेका हुन् । उनले यो सफलता ७२ खेलमा पूरा गरे ।

उनले पाँच विकेट लिन १० ओभरमा दुई मेडन राखी २९ रन खर्चे । यसअघि एकदिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन नेदरल्यान्ड्सविरुद्ध थियो । उनले नेदरल्यान्डसविरुद्ध ३३ रन दिएर पाँच विकेट लिएका थिए । करणले करिअरमा चार खेलमा पाँच विकेट लिएका छन् । उनले ६ खेलमा चार विकेट लिएका छन् । समग्रमा करणले ७२ एकदिवसीय खेलमा कुल १०३ विकेट लिएका छन् । नामिबियाविरुद्ध एक विकेट लिएका सोमपाल कामीले पनि एकदिवसीय खेलमा ९९ विकेट पुर्‍याएका छन् । अब उनी सय विकेट पूरा गर्न एक संख्याले टाढा छन् ।

सन्दीप पहिलोपटक लगातार तीन खेलमा विकेटविहीन
नेपालका लेग स्पिनर सन्दीप लामिछाने पहिलोपटक एकदिवसीय क्रिकेटमा पहिलोपटक लगातार तीन खेलमा विकेटविहीन बनेका छन् । नेदरल्यान्ड्समा चलिरहेको आइसिसी विश्वकप लिग दुईमा नेपालले तीन खेल खेल्दा सन्दीप विकेटविहीन भएका हुन् । उनले नामिबियासँग दुई र नेदरल्यान्ड्ससँग एक खेलमा विकेट हात पार्न सकेनन् । नामिबियाविरुद्ध पहिलो खेलमा उनले सात ओभरमा ३२ रन खर्चेका थिए । दोस्रो खेलमा नेदरल्यान्ड्सविरूद्ध उनले ८.१ ओभर बलिङ गरी ३६ रन खर्चिए । सोमबार नामिबियाविरूद्ध सन्दीपले आठ ओभरमा ३६ रन दिएका थिए । नेदरल्यान्ड्सको पिचमा सन्दीप विकेट लिन संघर्ष गरिरहेका छन् । 
एकदिवसीय खेलमा सन्दीपले नेपालका लागि सर्वाधिक एक सय ५४ विकेट लिएका छन् । विश्व क्रिकेटमा सन्दीपले एकदिवसीय क्रिकेटमा सर्वाधिक एक सय र एक सय ५० विकेट लिने विश्व कीर्तिमान राखेका छन् । उनले ७३ खेलबाट एक सय ५० विकेट पूरा गरेका थिए । सन्दीपले कम खेलमा सय विकेट लिने विश्व रेकर्ड पनि राखेका छन् । उनले यो उपलब्धि ४३ खेलबाट प्राप्त गरेका थिए । 

सुझावित समाचार