नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमाले र नेकपा (माओवादी केन्द्र) बिच बनेको नयाँ सत्तागठबन्धनप्रति व्यंग्य गर्दै यसलाई नाटककार विजय मल्लको चर्चित नाटक ‘अन्तिम भोज’सँग तुलना गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले सत्तासमीकरण बन्ने र भत्किने प्रक्रिया सीमित नेताहरूको निर्णयमा मात्र निर्भर हुनु लोकतान्त्रिक अभ्यासका लागि विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्। उनले यस्ता राजनीतिक समीकरणबारे केही शीर्ष नेताबाहेक अरू कसैलाई जानकारी नहुने परिपाटी नै स्थापित भएको बताएका छन्।
बाँस्कोटाले नयाँ सत्तासमीकरणले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत राजनीतिक रूपमा फाइदा पुग्ने अवस्था सिर्जना गरेको दाबी गरेका छन्। उनले विगतदेखि दोहोरिँदै आएको गठबन्धन परिवर्तनको शैलीमाथि पनि प्रश्न उठाएका छन्।
उनले लेखेका छन्, ‘सत्तासमीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए। खोपी सत्ता किन बन्छन् र भत्कन्छन् ? ती सभाका केही सदस्य र खास नेताबाहेक अरूले सुइँकोसमेत नपाउने कुरा परम्परा नै बन्यो। हाँडी बोकेर स्वर्ग कि नर्क बतासझैँ बत्तिएका छन्। विजय मल्लको ‘अन्तिम भोज’ नै त यो होइन होला ? अचम्म लाग्छ।’