म्याग्दीमा अविरल वर्षापछि खसेको पहिरोले दुई छुट्टाछुट्टै स्थानमा घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ भने तीनजनाको उद्धार गरिएको छ ।
जिल्लाको बेनी नगरपालिका– ३, भकिम्ली चिनाखेतमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर स्थानीय ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको छ ।
आफ्नै घरमा सुतिरहेका वेला घरमाथिबाट पहिरो खस्दा घरसँगै पुरिएका छन्त्यालको खोजी गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार पहिराले पशु चाैपाया र घरलगायतका भौतिक रूपमा समेत ठुलो क्षति भएको छ ।
त्यसैगरी जिल्लाको धवलागिरि गाउँपालिका– ७, धारापानी तल्लो हाडेभिरस्थित धनकुमारी थापाको घरमाथिबाट पहिरो खस्दा घरभित्र रहेका तीनजनाको उद्धार गरिएको छ । पहिरोले पुरिएको भरभित्र रहेका तीनैजनाको प्रहरी र स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरिएको हो ।
उद्धार गरिएकामध्ये लक्ष्मण थापाको दाहिने खुट्टामा सामान्य चोट लागेको छ भने अन्य दुईजनाको अवस्था सामान्य रहेको छ । गएरातिको अविरल वर्षाको कारण म्याग्दीका ग्रामीण सडकहरूसमेत अधिकांश अवरुद्ध बनेका छन् ।