गैँडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु, घटनाबारे अनुसन्धान जारी

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

गैँडाकोट नगरपालिका– १० स्थित अकलामाई मन्दिरनजिक अचेत अवस्थामा फेला परेका दुई महिलालाई उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका छन्।

मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका– ९ स्थायी घर भई हाल गैँडाकोट नगरपालिका– १२, हर्कपुरमा डेरा गरी ज्याला–मजदुरी गर्दै आएकी ३८ वर्षीया कविता राई तथा भोजपुर घर भई हाल गैँडाकोट नगरपालिका– १०, पितौजीस्थित गाईफार्ममा कार्यरत करिब ४५ वर्षीया कान्छी राई रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अकलामाई मन्दिरनजिकको चौरमा पूर्व–पश्चिम राजमार्गको बायाँपट्टि दुई महिला अचेत अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। उद्धारपछि दुवैलाई भेडाबारीस्थित नगर अस्पताल लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट बियरका बोतल र कुरमुरेका प्याकेट बरामद भएको प्रहरीले जनाएको छ। साथै, मृतकहरूको शरीरमा बाह्य चोटपटक नदेखिएको र घटनाको कारण खुल्न नसकेको भन्दै प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

See More On

सुझावित समाचार