वर्ष दिनमा भित्रिए १२ लाख पर्यटक

जेन–जी विद्रोह, निर्वाचन र विश्व भूराजनीतिमा देखिएको अस्थिरता र युद्धका बाबजुद नेपालमा पर्यटन आगमन सात प्रतिशतले बढ्यो

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

आर्थिक वर्ष ०८२/८३ मा १२ लाख नौ हजार तीन सय ५७ विदेशी पर्यटकको आगमन भएको छ । नेपाल पर्यटन बोर्ड (एनटिबी)का अनुसार सबैभन्दा धेरै तीन लाख ११ हजार पाँच सय ३१ पर्यटक भारतबाट आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट एक लाख ११ हजार तीन सय २५ र चीनबाट एक लाख नौ हजार आठ सय ९२ पर्यटक नेपाल घुम्न आएका छन् ।

जेन–जी विद्रोह, निर्वाचन, अन्तर्राष्ट्रिय भूराजनीति र युद्धलगायतका बाबजुद नेपालमा पर्यटन आगमन बढ्दै गएको छ । आव ०८२/८३ मा पनि नेपाल आउने पर्यटकको संख्या झिनो दरले बढेको छ । आव ०८२/८३ मा अघिल्लो आव ०८१/८२ को तुलनामा ८१ हजारजना अर्थात् ७.२१ प्रतिशतले बढी पर्यटक नेपाल आएका हुन् । अघिल्लो आव ०८१/८२ मा ११ लाख २८ हजार पर्यटक नेपाल घुम्न आएका थिए । पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐर सरकार र निजी क्षेत्रको प्रयासले नेपालको पर्यटनमा सकारात्मक वृद्धि भएको बताए । 

कुल आगमनमध्ये भारतको हिस्सा करिब २५.७६ प्रतिशत रहेको छ । भारतपछि अमेरिकाको ९.२० प्रतिशत र चिनियाँको ९.०८ प्रतिशत हिस्सा रहेको छ । त्यसपछि बंगलादेशबाट ५८ हजार एक सय ६३, बेलायतबाट ५६ हजार ६ सय ४९, अस्ट्रेलियाबाट ५३ हजार एक सय ९५, श्रीलंकाबाट ४३ हजार दुई सय ११, भुटानबाट ३६ हजार दुई सय ८९, म्यानमारबाट ३० हजार सात सय ३७, जर्मनीबाट २९ हजार दुई सय ९६, थाइल्यान्डबाट २७ हजार दुई सय एक, जापानबाट २५ हजार सात सय ६२ तथा मलेसियाबाट २५ हजार ६ सय ४० पर्यटक नेपाल आएका छन् ।

गत आर्थिक वर्ष ०८२/८३ मा सबैभन्दा बढी कात्तिकमा एक लाख २४ हजार आठ सय २९ विदेशी पर्यटक नेपाल आएका छन् । त्यसपछि चैतमा एक लाख १९ हजार तीन सय ९०, फागुनमा एक लाख १४ हजार एक सय ५२ र असोजमा एक लाख ११ हजार सात सय ८० पर्यटक आगमन भएको तथ्यांकले देखाएको छ ।

 यो वर्ष पर्यटकको संख्या थप बढ्ने
सरकारले आरोग्य पर्यटन वर्ष घोषणा गरेका कारण नेपाल घुम्न आउने पर्यटकको संख्या यो वर्ष झन् बढ्ने बोर्डको अपेक्षा छ । बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले चालू आर्थिक वर्षमा सरकारले लिएको नीति, स्रोत मुलुकहरूमा गरिने प्रवद्र्धनात्मक कार्यक्रम तथा कन्टेन्ट क्रिएटरहरूको सहभागिता बढाउने नीतिलगायतका कारण पर्यटन आगमन संख्या थप वृद्धि हुने अपेक्षा गरिएको बताए । पर्यटन बोर्डले आगामी दिनमा उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्ने, बसाइ अवधि बढाउने तथा परम्परागत बजारसँगै नयाँ अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धनलाई थप सुदृढ बनाइने जनाएको छ ।

पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐर भन्छन्–नेपालको पर्यटन उद्योग पुनरुत्थानबाट दिगो वृद्धितर्फ अघि बढिरहेको छ
अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवद्र्धन, हवाई पहुँचको विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटनमा सकारात्मक वृद्धि भएको छ । आर्थिक वर्ष ०८२/८३ को पर्यटक आगमनले नेपालको पर्यटन उद्योग पुनरुत्थानबाट दिगो वृद्धितर्फ अघि बढिरहेको स्पष्ट संकेत गरेको छ ।

प्रमुख स्रोत बजारसँगै नयाँ सम्भावनायुक्त बजारमा पनि लक्षित प्रवद्र्धनलाई अझ प्रभावकारी बनाउँदै नेपाललाई वर्षभरि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो प्रयास जारी रहनेछ । चीनसहित अमेरिका, अस्ट्रेलिया र बंगलादेशजस्ता नयाँ तथा उच्च सम्भावना भएका स्रोत बजारमा हाम्रो उपस्थिति अझ सशक्त बनाउन अन्तर्राष्ट्रियस्तरमा नियमित सेल्स मिसन सञ्चालन गर्न आवश्यक छ । पर्यटन प्रवद्र्धनलाई परिणाममुखी बनाउन आर्थिक वर्ष ०८३/०८४ को बजेटमार्फत निजी क्षेत्रसँगको सहकार्यमा यस्ता कार्यक्रम तत्काल विस्तार गर्ने दिशामा पर्यटन बोर्ड अघि बढिरहेको छ ।

See More On

सुझावित समाचार