कच्चा तेलको मूल्य फेरि प्रतिब्यारेल सय डलरमाथि

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

अमेरिका र इरानले एक–अर्कामाथि आक्रमण बढाएपछि विश्वव्यापी तेल आपूर्तिमा अवरोध आउने खतरा बढ्दै जाँदा तेलको मूल्य दुई महिनामा पहिलोपटक फेरि प्रतिब्यारेल सय डलरभन्दा माथि पुगेको छ ।

यमनका हुथी मिलिसियाले लालसागर हुँदै ढुवानी हुने साउदी तेल निर्यात रोक्ने चेतावनी दिएसँगै ९५ डलर पुगेको बेन्चमार्क तेलको मूल्य तीव्र गतिमा बढेको हो । अमेरिका–इरान तनाव बढेपछि ‘स्ट्रेट अफ हर्मुज’ क्षेत्रमा पनि तेल प्रवाह प्रभावित भएको छ ।

यमनका इरानी–समर्थित हुथी समूहले बिहीबार दुई साउदी अरबी तेल ट्यांकर (एन्सेलिया र लैला) माथि आक्रमण गरेको बताएका छन् । जहाजका चालक दलहरूले लालसागर क्षेत्रमा साउदी जहाजमाथि लगाएको नाकाबन्दी उल्लंघन गरेपछि आक्रमण गर्न बाध्य भएको हुथीले बताएको छ । आक्रमण गरिएका तेल ट्यांकरलाई कैयौँ ब्यालिस्टिक तथा क्रुज मिसाइलका साथै ड्रोन हानिएको हुथीले बताएको छ । आक्रमणपछि एउटा जहाजमा आगो लागेको छ ।

यसअघि अमेरिका र इजरायलले इरानमा हवाई आक्रमण गरेपछि तेलको मूल्यको अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड’को मूल्य मार्चमा प्रतिब्यारेल सय डलरभन्दा माथि पुगेको थियो । इरान युद्ध चर्किएपछि खाडीबाट हर्मुज हुँदै बाहिरिने जीवाश्म इन्धनको निर्यात लगभग ठप्प बन्न पुगेको थियो ।

यस क्रममा अप्रिलमा तेलको मूल्य प्रतिब्यारेल १२६ डलरसम्म पुगेको थियो । तर, मे महिनाको अन्त्यमा फेरि १०० डलरभन्दा तल झरेको थियो । जुलाईको सुरुमा यस क्षेत्रमा युद्धविरामको आशाका बिचमा कच्चा तेलको मूल्य युद्धअघिकै अवस्थामा पुगेको थियो । तर, अहिले अमेरिका र इरानबिचको हस्ताक्षर भइसकेको समझदारीपत्र भत्किएपछि र खाडीमा नयाँ शत्रुता सुरु भएपछि मूल्य फेरि बढ्न थालेको छ ।
 

सुझावित समाचार