- घरमै भएको विश्वकपपछि दुई टी–२० सिरिजमा पराजित भएको भारत तेस्रो प्रयासमा भने सफल भयो
भारतले घरमै भएको टी–२० विश्वकपपछि पहिलोपटक सिरिज जितेको छ । घरेलु टोली जिम्बाव्वेविरुद्धको तीन खेलको शृंखला भारतले २–० ले आफ्नो पक्षमा पारेको हो । भारत एक खेलअघि नै शृंखला जित्न सफल भयो । दोस्रो खेलमा जिम्बाव्वेलाई ९० रनले पराजित गर्दा ईशान किसन र तिलक बर्माले अर्धशतक बनाएका थिए । अभिषेक शर्माले तीन विकेट हात पारे । यसअघि भारतले जिम्बाव्वेलाई सात विकेटले हराएको थियो ।
भारतले विश्वकपछि आयरल्यान्डसँग दुई खेलको सिरिजमा दुवै हारेको थियो । इंग्ल्यान्डसँग पाँच खेलको सिरिज खेल्दा ४–१ ले पराजित भएको थियो । शनिबार हरारेमा भएको खेलमा टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय २० रनको लक्ष्य दियो । प्रत्युत्तरमा जिम्बाव्वे १७.५ ओभरमा सबै विकेट गुमाउँदा मात्र १२९ रन बनाउन सक्यो ।
बलर अभिषेक शर्मा चम्किएपछि जिम्बाव्वेको ब्याटिङ राम्रोसँग चल्न सकेन । अभिषेकले तीन विकेट लिँदा यस ठाकुर र प्रिन्स यादवले समान दुई विकेट लिएका थिए । तिलम बर्मा, शिभम दुवे र रवि बिस्नोईले समान एक विकेट लिएका हुन् । जिम्बाव्वेका लागि ओपनर ब्रायन बेनेटले १९ बलमा सर्वाधिक ३२ रन जोडे । तादिवानासे मारुकानीले २४, रायन बुरीले २० तथा ब्राड इभान्सले १९ रनको योगदान गरेका थिए । कप्तान सिकन्दर राजा डकआउट भए । जिम्बाव्वेका लागि ओपनरद्वय बेनेट र बेन करनले २३ बलमा सर्वाधिक ३४ रनको साझेदारी गरेका थिए । अन्य खेलाडीले ठुलो साझेदारी गर्नै सकेनन् ।
ईशान र तिलकको अर्धशतक
भारतको जितमा ईशान किसन र तिलक बर्माले अर्धशतक बनाएका थिए । २.६ बलमा २९ रन बनाउँदा दुई विकेट गुमाएपछि भारत दबाबमा आएको थियो । तेस्रो विकेटका लागि कप्तान श्रेयस ऐयर र किसनले ४२ बलमा ६६ रनको साझेदारी गरेपछि भारत ठुलो स्कोरतर्फ बढेको थियो । ईशान र तिलकले चौथो विकेटका लागि ४४ बलमा विष्फोटक ब्याटिङ गर्दै ९४ रन जोडेपछि भारत विशाल योगतर्फ बढ्यो ।
ईशानले ४४ बलमा सर्वाधिक ८१ रन जोडेका थिए । उनले क्याचआउट हुनुअघि नौ चौका र दुई छक्का हिर्काए । तिलकले अविजित ६० रन जोडेका हुन् । उनले २९ बलमा पाँच चौका र तीन छक्का हाने ।
कप्तान ऐयरले २० बलमा २५ रनको योगदान गरे । यसअघि युवा ओपनर वैभव सूर्यवंशीले नौ बलमा २० रन हिर्काएका थिए । अभिषेक शर्मा भने मात्र आठ रनमा रोकिए । रिंकु सिंहले १२ रन बनाउँदा शिभम दुवेले अविजित ६ रन जोडेका थिए । अब, अन्तिम खेल हरारेमै आइतबार हुनेछ ।