धार्मिक पर्यटन प्रवर्द्धनका लागि कालिगण्डकी किनारमा १०८ तलसी मठ निर्माण गरिएको छ । बागलुङ नगरपालिका–१ र ४ को संगमस्थल निरहेघाट (निर्णयघाट) मा रहेको मानवसेवा आश्रम परिसर आगडी १०८ वटा तुलसीका मठ निर्माण गरिएको हो । हरिशयनी एकादशीको अवसर पारेर तुलसीका बिरुवा रोपिएको छ। मानवसेवा आश्रम बागलुङको संयोजनमा सम्पन्न यस अभियानले धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय महत्वलाई एकैसाथ उजागर गरेको छ।
मानवसेवा आश्रमले तयार पारेको गुरुयोजना अनुसार आश्रम परिसरको अगाडि १०८ तुलसीका मठ निर्माण गरी विधिपूर्वक तुलसी रोपिएको हो। सनातन हिन्दू परम्परामा तुलसीलाई भगवान विष्णुको प्रिय स्वरूप तथा पवित्रताको प्रतीक मानिन्छ । घर–आँगनदेखि मन्दिरसम्म तुलसी रोप्ने परम्पराले आध्यात्मिक शान्ति, धार्मिक आस्था र वातावरण संरक्षणको सन्देश दिने विश्वास रहेको मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारीले बताए।
आश्रम निर्माण समितिका सदस्य एवं अभिभावक निर्मलकुमार श्रेष्ठका अनुसार प्रत्येक तुलसी मठ निर्माणमा करिब १० हजार रुपैयाँ लागत लागेको छ । मठ निर्माणका लागि विभिन्न धर्मप्रेमी, समाजसेवी तथा सहयोगी व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त भएको उनले जानकारी दिए ।‘मठ निर्माणका निम्ती बागलुङ नगरपालिका र वडा नं. ४ बाट ५ लाख बजेट विनियोजन भएको थियो, श्रेष्ठले भने,‘तर बागलुङ लगायत विभिन्न ठाउँमका भक्तजनले व्यक्तिगत रुपमा नै निर्माण गरिदिनु भयो ।
नगरपालिकाको बजेटलाई हामी शिवलिंग निर्माणका लागि लाग्नेछौँ । आश्रमस्थलमा नै शिवलिंग निर्माण गर्नुका साथै बुढानिलकण्ठको मुर्तिपनि निर्माणाधिन अवस्थामा रहेको उनले बताए । आगामी दिनमा आश्रम परिसरमा १०८ वटा पीपल, बर, स्वामी तथा बेलपत्रका बिरुवा समेत रोप्ने योजना रहेको श्रेष्ठले जानकारी दिए । निरहेघाट क्षेत्र विगतदेखि नै धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित रहँदै आएको छ । करिब तीन दशकअघि हरिशयनी एकादशी र हरिबोधनी एकादशीका अवसरमा यहाँ ठूलो धार्मिक मेला लाग्ने गर्दथ्यो । समयक्रमसँगै मेलाको परम्परा कमजोर बन्दै गए पनि पछिल्ला वर्षहरूमा मानवसेवा आश्रमको भवन निर्माण तथा धार्मिक संरचनाहरू थपिँदै गएपछि यस क्षेत्रप्रति श्रद्धालु र भक्तजनहरूको आकर्षण पुनः बढ्न थालेको छ ।
निरहेघाटमा अवस्थित लक्ष्मीनारायण मन्दिर, रामानुज आश्रमलगायतका धार्मिक सम्पदाले यस क्षेत्रको महत्व अझ बढाएको छ। तुलसीका १०८ मठ निर्माणसँगै धार्मिक पर्यटनको सम्भावना विस्तार हुने विश्वास गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । कालिगण्डकीको पवित्र तटमा आध्यात्मिक वातावरण सिर्जना गर्दै धर्म, संस्कृति, प्रकृति संरक्षण र मानव सेवालाई जोड्ने उद्देश्यले सुरु गरिएको यो अभियानले निरहेघाटलाई आगामी दिनमा प्रमुख धार्मिक गन्तव्यका रूपमा स्थापित गर्न टेवा पुग्ने अपेक्षा गरिएको उनले बताए ।
तुलसी रोपणलाई धार्मिक दृष्टिले विशेष महत्वका साथ हेरिन्छ । शास्त्रअनुसार हरिशयनी एकादशीदेखि चातुर्मास प्रारम्भ हुने भएकाले यस अवधिमा तुलसी रोपण, पूजा–आराधना र संरक्षण गर्नु पुण्यदायी मानिन्छ । तुलसीले धार्मिक आस्थासँगै वातावरणीय सन्तुलन कायम गर्न, जैविक विविधता संरक्षण गर्न र पवित्र वातावरण निर्माण गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको छ । मानवसेवा आश्रम निर्माणका निम्ती