काठमाडौंको नागढुंगा चेकपोस्टबाट १७ ग्राम ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२ स्थित नागढुंगा चेकपोस्टमा काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बाप्र०१–००६ ख ९८५५ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा एक यात्रुको साथबाट प्रतिबन्धित लागुऔषध बरामद गरिएको हो।
नागढुंगा चेकपोस्ट र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगाको संयुक्त टोलीले बसमा सवार खोटाङको रावाबेँसी गाउँपालिका–४ निवासी ३६ वर्षीय डिल्ली निरौलाको खानतलासी गर्दा उनले लुकाइछिपाइ ल्याएको अवस्थामा खैरो हेरोइन (ब्राउनसुगर) जस्तो देखिने १७ ग्राम गिलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागुऔषधसहित निरौलालाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।