यो वर्ष सुदूरपश्चिम प्रदेशको रोपाइँ अन्तिम चरणमा पुगेको छ । कृषि विभागका अनुसार सोमबारसम्म सुदूरपश्चिममा ९०.६७ प्रतिशत रोपाइँ सकिएको हो । जेठ दोस्रो साताबाटै रोपाइँ सुरु हुने भएकाले बर्सेनि सुदूरपश्चिममा सबैभन्दा पहिला रोपाइँ सकिने गरेको छ । सुदूरपश्चिममा यो वर्ष एक लाख ६२ हजार दुई सय ५० हेक्टरमा रोपाइँ हुने अनुमान रहेकोमा हालसम्म एक लाख ४७ हजार एक सय ६ हेक्टरमा रोपाइँ सकिएको छ । सोमबारसम्म देशभर भने ७३.६१ प्रतिशत रोपाइँ सकिएको छ ।
सबैभन्दा धेरै धान उत्पादन हुने मधेशमा भने अन्य प्रदेशको तुलनामा कम रोपाइँ सकिएको छ । मधेशमा ५७.९३ प्रतिशत रोपाइँ सकिएको हो । यो वर्ष मधेशमा तीन लाख ८२ हजार चार सय ३३ हेक्टरमा रोपाइँ हुने अनुमान रहेकोमा दुई लाख २१ हजार पाँच सय ४६ हेक्टरमा रोपाइँ सकिएको छ । त्यस्तै, कोशीमा ७३.९४ प्रतिशत रोपाइँ सकिएको विभागले जनाएको छ । कोशीमा दुई लाख ७६ हजार तीन सय ८६ हेक्टरमा रोपाइँ हुने अनुमान रहेकोमा हालसम्म दुई लाख चार हजार तीन सय ४७ हेक्टरमा रोपाइँ सकिएको छ ।
बागमतीमा ७७.३३ प्रतिशत रोपाइँ सकिएको छ । यो वर्ष बागमतीमा एक लाख एक लाख १४ हजार पाँच सय २४ हेक्टरमा रोपाइँ हुने अनुमान रहेकोमा ८८ हजार पाँच सय ५७ हेक्टरमा रोपाइँ सकिएको छ । त्यस्तै, गण्डकीमा ७८.३६ प्रतिशत रोपाइँ सकिएको छ । यो वर्ष गण्डकीमा ९३ हजार ६ सय ६ हेक्टरमा रोपाइँ हुने अनुमान रहेकोमा ७३ हजार तीन सय ४९ हेक्टरमा रोपाइँ सकिएको छ ।
लुम्बिनीमा ८०.६५ प्रतिशत रोपाइँ सकिएको छ । यहाँ तीन लाख एक हजार तीन सय ७२ हेक्टरमा धानखेती हुने अनुमान रहेकोमा दुई लाख ४३ हजार ४२ हेक्टरमा रोपाइँ सकिएको छ । सबैभन्दा कम धान रोपाइँ हुने क्षेत्रफल रहेको कर्णालीमा ४३ हजार दुई सय ९० हेक्टरमध्ये ७७.०५ प्रतिशत रोपाइँ सकिएको छ । यहाँ ३३ हजार तीन सय ५३ हेक्टरमा रोपाइँ सकिएको विभागले जनाएको छ ।
गत वर्ष ७२.१४ प्रतिशत रोपाइँ
यसपालि समयमै मनसुन सुरु भएकाले रोपाइँमा उल्लेख्य प्रगति भइरहेको हो । गत वर्ष यही अवधिमा भने ७२.१४ प्रतिशत रोपाइँ भएको थियो । गत वर्ष मधेशमा खडेरी परेका कारण रोपाइँमा सन्तोषजनक प्रगति भएको थिएन ।
गत वर्ष यही समयमा कोशीमा ६१.७९ प्रतिशत, मधेशमा ४६.८३ प्रतिशत, बागमतीमा ८७.१९ प्रतिशत, गण्डकीमा ७९.२८ प्रतिशत, लुम्बिनीमा ८७.९३ प्रतिशत, कर्णालीमा ८७.९३ प्रतिशत र सुदूरपश्चिममा ९६.९९ प्रतिशत रोपाइँ सकिएको थियो ।