- २०औँ एसियन खेलकुद प्रतियोगिताको तयारीका लागि नेपाली पुरुष कबड्डी टोलीले भारतको हरियाणाको सनदीप नरवाल एकेडेमीमा एक महिना प्रशिक्षण गर्ने
नेपाली राष्ट्रिय पुरुष कबड्डी टोलीले जापानमा हुने २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को तयारी भारतमा गर्ने भएको छ । टोलीले भारतको हरियाणाको सनदीप नरवाल एकेडेमीमा एक महिना प्रशिक्षण गर्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । त्यसपछि नेपाली टोली प्रशिक्षणकै लागि थाइल्यान्ड जाने कार्यक्रम रहेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए ।
‘चाइनिज ताइपेई वा थाइल्यान्डमा वैदेशिक प्रशिक्षण गर्ने योजना थियो,’ झाले भने, ‘हामीसहित तीन राष्ट्रको अभ्यास खेल हुनेछ । ताइपेई थाइल्यान्ड नगएको खण्डमा हामी भारतकै जयपुर र उत्तर प्रदेशमा प्रशिक्षणलाई निरन्तरता दिनेछौँ ।’ उनका अनुसार नेपाली टोलीले भारतमा विभिन्न स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ ।
वैदेशिक प्रशिक्षणस्थलबाटै पुरुष कबड्डी टोली आगामी ३ देखि १८ असोजसम्म हुने २०औँ एसियाडमा सहभागी हुन जापान जानेछ । एसियाली खेलकुदमा नेपाली पुरुष कबड्डी टोलीको यो पाँचौँ सहभागिता हुनेछ । यसअघि पुरुष टोलीले १९९० मा चीन, १९९४ मा जापान, १९९८ मा थाइल्यान्ड र २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा सहभागिता जनाएको थियो । नेपाली महिला कबड्डीले पनि २०औँ एसियाडमा सहभागिता जनाउनेछ । महिला टोली दोस्रोपटक सहभागी हुन लागेको हो । चार वर्षअघि चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा महिला टोलीले पहिलोपटक सहभागिता जनाएको थियो । पहिलो सहभागितामै महिला टोलीले ऐतिहासिक कांस्य पदक जितेको थियो ।
१५ खेलाडीले प्रशिक्षण गर्ने
भारतमा एसियाडको तयारीमा १२ खेलाडीले प्रशिक्षण गर्ने महासचिव झाले बताए । प्रशिक्षणमा सहभागी हुने खेलाडी घनश्याम रोकामगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारू, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली रहेका छन् । घनश्याम, अंकु, रवि र करुण भारतमै प्रशिक्षणमा छन् । घनश्याम हरियाणामै छन् भने बाँकी तीन खेलाडी हिमाचल प्रदेशमा छन् । उनीहरू त्यतैबाट नेपाली टोलीमा समावेश हुनेछन् । प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा कल्याण भुजेल र व्यवस्थापकमा परशुराम ओली छन् । व्यवस्थापक ओली भने केही दिनपछि जानेछन् । यसैबिच बुधबार प्रशिक्षणमा जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठले बिदाइ गरेका छन् । श्रेष्ठले खेलाडीलाई राम्रो तयारी गर्न सुझाउँदै एसियाली खेलकुदमा उत्कृष्ट नतिजाका लागि शुभकामना दिए ।