कटहरले लागेर रुखबाट खस्दा एक महिलाको मृत्यु

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

रामेछापमा रुख चढेर कटहर टिप्ने क्रममा कटहर झरेर टाउकोमा लागेर भुइँमा बजारिन पुगेकी एक महिलाको बुधबार दिउँसो ज्यान गएको छ।

मृत्यु हुनेमा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–३ स्थायी घर भई रामेछापको लिखु तामाकोशी गाउँपालिका–२, सैपुस्थित पुलुमा सानीआमा लीलामाया सुनुवारको घरमा बस्दै आएकी अन्दाजी ४८ वर्षीया लाटी सुनुवार रहेकी छिन्।

हिजो दिउँसो रुखमा चढेर कटहर टिप्न खोज्दा अकस्मात् कटहर झरेर सुनुवारको टाउकोमा लाग्दा रुखबाट १५ फिट तल भुइँमा पछारिएर गम्भीर घाइते भएकी थिइन्। घटनास्थलबाट तत्काल उद्धार गरी उनका परिवारले सोही वडाको शिरिसे बजारमा रहेको मेडिकलमा उपचारका लागि भर्ना गरेका थिए।

उक्त मेडिकलमा सुनुवारको उपचार सम्भव नभएपछि थप उपचारका लागि बुधबार दिउँसो काठमाडाैं लैजाने तयारी हुँदाहुँदै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए।

मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम मन्थलीस्थित मन्थली अस्पतालमा ल्याउने तयारी भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

सुझावित समाचार