बागमती प्रदेश सरकारबाट बाहिरिने तयारीमा रहेका एमालेका तर्फबाट कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेलले अब बन्ने प्रदेश सरकारको नेतृत्व राजनीतिक अंकगणितले निर्धारण गर्ने बताएका छन् । उनका अनुसार केन्द्रमा बदलिएको सत्तासमीकरणअनुसार बागमतीमा वामगठबन्धनबाट नयाँ सरकार बन्ने सम्भावना बलियो रहेको छ ।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले एमाले र नेकपाबिच सरकार गठनका लागि छलफल भइरहेको उल्लेख गर्दै बहुमत जुटाउने दलले सरकारको नेतृत्व गर्ने बताए। ‘अब सरकार कसले बनाउने भन्ने कुरा अंकगणितले तय गर्छ,’ उनले भने, ‘एमालेले नेतृत्व गर्ने अवस्था आयो भने आवश्यक संख्या जसले पुर्याउँछ, उसैले सरकारको नेतृत्व गर्छ । एमालेभित्र दलको नेता वा नेतृत्वको विषयमा कुनै विवाद छैन ।’
कांग्रेससँगको सहकार्यको समीक्षा
झन्डै एक वर्ष नेपाली कांग्रेससँग सरकारमा सहकार्य गरेको अनुभव समग्रमा सकारात्मक रहेको मन्त्री पौडेलले बताए । केही नीतिगत विषयमा मतभेद भए पनि गठबन्धनले प्रदेश सरकार सञ्चालनमा सहयोग पुर्याएको उनको भनाइ थियो । ‘केही मुद्दामा बेमेल भए पनि समग्र कार्यकाल सुखद रह्यो’ उनले भने, ‘अब भने नयाँ राजनीतिक परिस्थिति बनेको छ। नयाँ सरकार गठनको सम्भावना अहिले ५०–५० अवस्थामा छ।’
राप्रपासँग पनि संवाद जारी
मन्त्री पौडेलले नयाँ सत्तासमीकरणका लागि एमालेले राप्रपासहित अन्य दलसँग पनि संवाद अघि बढाउने बताए ।
‘सरकार गठनका लागि आवश्यक समर्थन जुटाउन हामी राप्रपा र अन्य दलहरूसँग पनि छलफल गर्छौँ,’ उनले भने।
बागमती प्रदेश सभामा एमाले र नेकपाको संयुक्त संख्या सरकार गठनका लागि पर्याप्त नहुने भएकाले अन्य दलको समर्थन निर्णायक बन्ने देखिएको छ।
बागमतीमा मन्त्रालय संख्या नबढ्ने
प्रदेश सरकार पुनर्गठनका क्रममा मन्त्रालयको संख्या फेरि बढाउने पक्षमा एमाले नरहेको मन्त्री पौडेलले स्पष्ट पारे। मन्त्रालय संख्या घटाउने कार्यदलको संयोजक आफू नै रहेको उल्लेख गर्दै उनले सानो संरचनाबाट प्रभावकारी सरकार सञ्चालन गर्नुपर्ने धारणा राखे।
‘हामी मन्त्रालयको संख्या बढाउने पक्षमा छैनौँ। बरु कम मन्त्रालयबाट प्रभावकारी सेवा प्रवाह गर्ने पक्षमा छौँ,’ उनले भने।
मुख्यमन्त्री फर्किएपछि राजीनामा
मन्त्री पौडेलले केन्द्रको निर्देशनअनुसार एमालेका मन्त्रीहरूले सरकारबाट बाहिरिने निर्णय गरिसकेको जानकारी दिए। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ चितवनमा रहेकाले उनी हेटौँडा फर्किएपछि सामूहिक रूपमा राजीनामा बुझाइने उनले बताए।
‘हामीले मुख्यमन्त्रीज्यूसँग सम्पर्क गर्ने प्रयास गर्यौँ। उहाँ चितवनको कार्यक्रममा हुनुहुँदोरहेछ। उहाँ फर्किएपछि हामी सामूहिक रूपमा राजीनामा बुझाउँछौँ र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौँ,’ उनले भने ।
२०८२ साउन २० गतेदेखि नेपाली कांग्रेससँगको सहकार्यमा बनेको बागमती प्रदेश सरकारमा एमालेका ६ मन्त्री सहभागी थिए । केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य अन्त्य भएसँगै एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो । एमालेको बहिर्गमनसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको राजनीतिक दौड सुरु भएको छ ।