अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कैयन क्यानेडियाली सामानमाथि नयाँ ५० प्रतिशत दरको भन्सार कर लगाउने घोषणा गरेका छन् । अमेरिकी मदिरा, सवारी साधन र दुग्ध उत्पादनमाथि क्यानडाले ‘भेदभावपूर्ण व्यवहार’ गरिरहेकाले आफू यस्तो कदम चाल्न बाध्य भएको ट्रम्पले स्पष्टीकरण दिएका छन् ।
ट्रम्पद्वारा सोमबार घोषणा भएको नयाँ भन्सार कर ३० दिनपछि लागू हुनेछ । अतिरिक्त भन्सार कर लाग्ने क्यानेडेली उत्पादनमा वाइन, हक्की स्टिक र सिमेन्टलगायत उत्पादन समेटिने ह्वाइट हाउसको तथ्यपत्रमा उल्लेख छ । वर्षको सुरुमा सर्वोच्च अदालतले ट्रम्पले अधिकांश देशमाथि लगाएका भन्सार कर खारेज गरिदिएपछि ट्रम्पले अहिले हालसम्म प्रयोगमा नल्याइएको ‘ट्यारिफ एक्ट, १०३०’को धारा ३३८ मा टेकेर भन्सार घोषणा गर्न थालेका छन् । पछिल्लो भन्सार शुल्क ऊर्जा, पोटासजस्ता पहिले नै भन्सार लक्षित क्षेत्रमा भने लागू नहुने ह्वाइट हाउसले बतायो ।
महत्वपूर्ण रूपमा तिनीहरूले ‘अमेरिका–मेक्सिको–क्यानडामुक्त व्यापार सम्झौता (यएसएमसीए)’ अन्तर्गत समेटिएका उत्पादनलाई भने असर गर्नेछन् । ट्रम्पद्वारा नयाँ भन्सार दर घोषणा भएपछि टिप्पणी गर्दै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले नयाँ करले युएसएमसिएलाई ‘प्रत्यक्ष उल्लंघन’ गर्ने बताए ।
अमेरिकासँगको विवाद समाधान गर्न आफूहरू तयार रहेको पनि कानीले बताए । नयाँ कर घोषणा गर्दा ह्वाइट हाउसले गत वर्ष ट्रम्पले भन्सार कर घोषणा गर्दा जवाफी कदम उठाउने जम्मा दुई देशमध्ये क्यानडा (अर्को चीन थियो) रहेको पनि उल्लेख ग¥यो । त्यस्तै ट्रम्पको भन्सारको धम्की र क्यानडालाई अमेरिकाको ‘५१औँ राज्य’ बनाउने धम्कीपछि क्यानडाले प्रायः अमेरिकी मदिरा खरिद बन्द गरेको कुरा पनि ह्वाइट हाउसले उठाएको छ ।